वीर अस्पतालका लागि खरिद गरिएको मेसिन सशस्त्र अस्पतालमा बेवारिसे

|

काठमाडौं : तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा करिब ४० करोड खर्च गरी ल्याइएको ‘टोमोथेरापी’ मेसिन सशस्त्र प्रहरी अस्पतालमा बेवारिसे बनेको छ। लामो समयसम्म बेवारिसे रहँदा मेसिन प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको छ।

क्यान्सरका बिरामीलाई सरकारी अस्पतालमा नै सर्वसुलभरूपमा उपचार गर्ने भन्दै वीर अस्पतालका लागि २०७५ सालमा ३९ करोड ९० लाखमा मेसिन किनिएको थियो। वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पताल लगिएको थियो। हाल यो मेसिन अस्पतालको चौरमा बेवारिसे रूपमा रहेको छ। 

अस्पतालमा रहेको कोबाल्ट ६० मेसिन २०७२ सालतिर कामै नलाग्ने गरी बिग्रिएपछि नयाँ मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको थियो। तत्कालीन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ र  वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए। ‘लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि’ ले ल्याएको हो।

केही समय अघि मेसिन उत्पादक अमेरिकी कम्पनी एकुरेका प्रतिनिधि नेपाल आएका थिए। उनीहरुले बलम्बु स्थित मेसिन राखिएको ठाउँमा पुगेर अवलोकन गरे। मेसिनको  पाटपूर्जामा नै खिया लागेपछि उत्पादक कम्पनी एकुरेका प्रतिनिधि मेसिन जडान गर्न उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्म जडान गर्न नसकिने भन्दै फर्किए।

२० वर्षअघि ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सर रोगीको 'रेडियोथेरापी' सेवा पूर्ण रूपमा बन्द भएको थियो। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अब सो मेसिन प्रयोग गर्न सकिने भइसकेको बताए। ‘ हाल बुझ्दा पूर्वतयारीविनै नगरी तत्कालिन समयमा मेसिन खरिद गरिएको देखिन्छ, मुख्य कुरा मेसिनको राख्ने ठाउँको तयारी नै नभई मेसिन खरिद गर्ने निर्णय गरेको देखियो’ उनले भने।

के हो 'टेमोथेरापी' मेसिन?

टेमोथेरापी मेसिन क्यान्सरका बिरामीको उपचारको लागि आवश्यक उपकरण हो। यो क्यान्सरका बिरामीको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि हो।

क्यान्सर भएको शरीरको भागमा मात्रै यो मेसिन प्रयोग गर्न सकिन्छ। यो प्रविधिबाट उपचार गर्दा शरीरको अन्य भागमा असर गर्ने सम्भावना कम हुन्छ। वीरले ल्याएको टोमोथेरापी मेसिन अमेरिकी एकुरे कम्पनीसँग मात्रै रहेकाले त्यहीँबाट खरिद गरिएको थियो।

बिग्रिएको पुरानो मेसिनलाई व्यवस्थापन गर्नेबित्तिकै नयाँ मेसिन जडान गरी क्यान्सरका बिरामीहरूको उपचार थालिने वीर अस्पतालले जनाएको थियो।

यस्तो खाले मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै छ। नेपालले चार वर्षको पहलपछि यो मेसिन पहिलोपटक भित्र्याएको थियो।

नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.