|
प्रतीकात्मक तस्वीर

जुम्ला : जुम्लामा हुन लागेको एउटा बालविवाह रोकिएको छ। ​ तिला गाउँपालिका-३ मा बालविवाह हुन लागेको सूचना पाएपछि प्रहरीको सक्रियतामा उक्त विवाह रोकिएको हो।

तिला गाउँपालिका-५ की १६ वर्षकी केटी र सोही गाउँपालिका-३ का १९ वर्षका केटाबीच बिहे हुन लागेको थियो। कम उमेरका भएकाले उनीहरुबीच बालविवाह हुन लागेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त विवाह रोकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार  बालविवाह हुनबाट रोकिएका दुवै जनालाई स्थानीय जनप्रतिनिधि, बालविवाहविरुद्ध काम गर्ने सरोकारवालाको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो।

नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने/गराउने सबै पक्षलाई ३० हजार रूपैयाँसम्म जरिवाना र ३ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ।

जुम्लाको अधिकांश क्षेत्रमा अझै पनि बालविवाह अत्यधिक हुने भएकाले यसको रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले ध्यान दिन जरुरी रहेको स्थानीय बताउँछन्। यसअघि पनि तातोपानी गाउँपालिका–४ हाँकुमा १८ वर्षीया बालिका र १८ वर्षीय बालकसँग बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.