|

काठमाडौं : मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी भइरहेका वेला नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीको संख्या पनि बढेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसबाट मन्त्रीका आकांक्षीले नेताको घरदैलो धाउन थालिसकेका छन्।

उनीहरूले आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै शीर्ष तहमा ‘लबिङ’ शुरु गरेका हुन्।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले १० दलीय गठबन्धनबाट बढीमा ८ वटा मन्त्रालय पाउने भए पनि मन्त्रीका आकांक्षीको संख्या ठूलो रहेको छ।

कांग्रेसमा संस्थापन पक्ष र शेखर कोइराला पक्षबाट मन्त्री बन्ने सांसदको संख्या उल्लेख्य रहेको स्रोतको दाबी छ। 

कांग्रेसले मन्त्री छनोट गर्न चारवटा मापदण्ड तय गरेको छ। गत आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाउने निर्णय गरिसकेको छ।

सोही मापदण्डबमोजिम मन्त्री छनोट गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनले १० दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगो लागेपछि पार्टीबाट मन्त्रीको नाम टुंगो लाग्ने बताए।

कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय टुंगो लाग्न बाँकी छ। पार्टीबाट सरकारको नेतृत्वमा इच्छा राख्नेहरूमा उपसभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह रहेका छन्।

खड्काले आफू मन्त्री बन्ने तयारीमा नरहेको बताए पनि उनले उपप्रधानसहित सरकारको नेतृत्व गर्न इच्छा राखेका छन्। सभापति देउवानिकट मानिएका खड्कालाई एमाले सहितको गठबन्धन भत्काएर पुरानै गठबन्धन कायम गरेको जस जान्छ।

खड्काले चाहेको खण्डमा सरकारमा पठाउन सभापति देउवासहित अधिकांश कांग्रेस नेताहरू सकारात्मक रहेको स्रोतको दाबी छ। खड्काले गृह मन्त्रालयमा आकांक्षा राखेका छन्। उनले यसअघि पनि गृह मन्त्रालय चलाइसकेका छन्। 

‘उपसभापतिको हैसियतले सभापतिज्यूले उहाँलाई नेतृत्व गरेर पठाउने सम्भावना छ। यद्यपि उहाँले मन्त्री बन्दिनँ भनेर सार्वजनिक रूपमा भन्नुभएको छ। उहाँले चाहेको खण्डमा पार्टीले उहाँको नेतृत्वमा सरकारमा सहभागी गराउँछ’‚ देउवानिकट एक नेताले थाहाखबरसँग भने। 

कोइरालाले पनि पार्टीबाट नेतृत्व गरेर सरकारमा जान इच्छा देखाएका छन्। त्यसका लागि उनले सभापति देउवासमक्ष ‘लबिङ’ गरिरहेको बुझिएको छ। कोइरालाले आफूले नपाए उपसभापति धनराज गुरुङलाई अगाडि सार्ने सम्भावना छ। उनी मन्त्री भए समानुपातिक कोटा र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नेछन्। 

पार्टीको १४ महाधिवेशनमा अन्तिम समयमा देउवालाई सहयोग गरेका प्रकाशमान सिंहले उपप्रधानमन्त्रीमा आकांक्षा राखेका छन्। उनले आफ्नो अन्तिम कार्यकाल हुनसक्ने भन्दै यसपटक पार्टीबाट सरकारको नेतृत्वमा दाबी गरेका हुन्। 

कांग्रेसका महामन्त्री गगनकुमार थापा मन्त्रीको ‘रेस’बाट बाहिरिएका छन्। उनले आफू मन्त्री बन्ने कुरामा सत्यता नरहेको बताउँदै पार्टीलाई मजबुत बनाउन केन्द्रित भएको प्रतिक्रिया दिए। 

रूपन्देही पुगेर महामन्त्री थापाले भने, ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन। मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ।’

यद्यपि, थापाले सरकारमा नेतृत्व गर्न नपाएकाले मन्त्री बन्न इच्छा नदेखाएको पार्टीका नेताहरू बताउँछन्। संसदीय दलको नेतामा चुनाव लडेकाले मन्त्री भएर जानु नैतिक हिसाबले पनि सही नहुने थापाको बुझाइ छ।  

कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला पनि मन्त्रीका आकांक्षी छन्। २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका कोइराला एकपटक पनि मन्त्री बनेका छैनन्। 

उनले कृषिमन्त्री बन्न चाहेको सार्वजनिक रूपमा घोषणा गर्दै आइरहेका छन्। बिपी कोइरालाका पुत्रसमेत रहेका शशांक १४औँ महाधिवेशनदेखि कोइराला क्याम्प छोडेर सभापति देउवानिकट रहँदै आएका छन्। 

त्यस्तै, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदयशमशेर राणा पनि मन्त्रीको लाइनमा छन्। उनीहरूले अर्थ मन्त्रालयमा रुचि देखाएका छन्। तीनैजना नेता सभापति देउवानिकट हुन्। 

महिलाबाट सीता गुरुङको सम्भावना रहेको बताइन्छ। तेह्रथुमबाट निर्वाचित गुरुङ महिला र प्रत्यक्ष चुनाव जित्नेको सूचीमा पर्नसक्ने सम्भावना रहेको छ।

देउवानिकट रहेकी उनी कांग्रेसमा महिलाबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एक्ली महिला सांसद हुन्। भूगोलको हिसाबले गुरुङले कोशी प्रदेशको प्रतिनिधित्व गर्छिन्।

साथै कोशी प्रदेशमा देउवा समूहका रामहरि खतिवडा, कोइराला समूहका डिकबहादुर लिम्बू र सुनिल शर्मा पनि मन्त्रीका लागि लबिङमा छन्। त्यस्तै‚ मधेश प्रदेशबाट समानुपातिक सांसद विमलेन्द्र निधि र प्रत्यक्ष चुनाव जितेका रमेश रिजाल मन्त्रीको लबिङमा रहेका छन्। 

बागमती प्रदेशबाट मन्त्री बन्ने आकांक्षी सांसदका संख्या पनि ठूलै रहेको छ। कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, उदयशमशेर राणा र मोहन बस्नेत मन्त्रीको लाइनमा छन्। युवा र गुटगत हिसाबले पनि पौडेलको सम्भावना बलियो छ। 

गण्डकी प्रदेशबाट उपसभापति गुरुङसहित शंकर भण्डारी र राजेन्द्र बजगाईं मन्त्रीको दाबेदार छन्। लुम्बिनी प्रदेशबाट देउवा निकटका सहमहामन्त्री किशोरसिंह राठौर, शेखर समूहका सञ्जय गौतम, शशांक निकटका दीपक गिरी मन्त्रीका आकांक्षी छन्।

कर्णाली प्रदेशबाट उपसभापति खड्का र सुदूरपश्चिमबाट वीरबहादुर बलायर, सहमहामन्त्री बद्री पाण्डे र एनपी साउद मन्त्री बन्नका लागि ‘लबिङ’मा छन्।

८ मन्त्रालयमा कांग्रेसको दाबी

प्रतिनिधिसभामा ८९ सिट रहेको नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा ८ वटा मन्त्रालयमा दाबी गरेको छ। कांग्रेसले तत्कालीन एमालेले पाएका मन्त्रालयमा दाबी गरेको हो।

एमालेले उपप्रधानसहित ८ वटा मन्त्रालयको जिम्मेवारी पाएको थियो। एमालेले अर्थ, कृषि, उद्योग, भूमि, परराष्ट्र, रक्षा, स्वास्थ्य र महिला तथा बालबालिका मन्त्रालय पाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.