|

काठमाडौँ : गरे के हुँदैन। इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ। यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले।

भनेजस्तो काम र कमाइ नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यति वेला भने आफैँ मालिक हुन्। इनरुवा–८ मा १३ बिघा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनी तेस्रो वर्षमा खेती गरिरहेका छन्।

यसले उनलाई करोडपति बनाइसकेको छ। मौसमी खेती गर्दै आएका उनले यति वेला खेतमा काँक्रो र भन्टा फलाएका छन्। भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई छ। उनले मासिक २० हजारसम्म तलब दिएर २० जना कामदारलाई रोजगारी समेत दिएका छन्।

आफ्नो खेती र किसानी पेशामा दंग उनी उत्पादन विस्तार गर्ने सोचमा छन्। विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आम्दानी गर्ने गरेको बताउँछन्। यसबाट घरखेत जोड्दै गएको उनले बताए।

उनी भन्छन्, ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने! आफ्नै माटोमा श्रम बगाए यहीँ छ सब कुछ। परिवार, पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ। तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ। कसैले सिक्न चाहे मैले जानेको सिकाउन तयार छु।’

जब्बासाले उत्पादन गरेको तरकारी अधिकांश जसो पूर्वका ठूला बजारमा पुग्छ। तैपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजाइँका कारण उनी खुशी छैनन्।

नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मर्कामा पर्ने गरेको उनको दुखेसो छ। उनले सरकारसँग साना किसानलाई पनि हेरिदिन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.