|

पर्वत : नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुईजना मन्त्रीहरूले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा छ।

माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वन मन्त्रीमा रेसमबहादुर जुग्जाली सहभागी भएका थिए। केन्द्रीय राजनीतिमा आएको तरङ्गले प्रदेश सरकारलाई पनि तरङ्गित बनाएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष के.पी शर्मा ओली नेतृत्वको नयाँ गठबन्धन त्यागेर नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आएपछि यसको सिधा असर प्रदेश सरकारमा छ।

केन्द्रमा कांग्रेससँग साइनो गाँसेको माओवादीले त्यसैलाई निरन्तरता दिन गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता गरेको हो।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्रमा फेरि विश्वासको मत लिनुपर्ने छ। तर माओवादी र कांग्रेस मिलेको अवस्थामा मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत पुग्दैन।

यो अवस्थामा कामचलाउ सरकारमा रहनुभन्दा राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कांग्रेसको सुझाव छ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अल्पमतमा परेको सरकारले बहुमत जुटाउने सम्भावना नरहेको अवस्थामा जतिसक्दो छिटो बाटो खुला गर्नुपर्ने बताए।

कामचलाउ सरकार शक्तिमा रहँदा महत्त्वपूर्ण निर्णयदेखि नियुक्ति वा अन्य कामहरूमा प्रभाव पार्न सक्ने भएकाले पनि अल्पमतको सरकार शक्तिमा रहन नहुने उनको भनाइ छ।

‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुने छ। कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्याय सङ्गत मानिँदैन’ उनले भनेका छन्, ‘यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतका दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने जानकारी गराउँदछु।’

बहुमत गुमाइसकेर अल्पमतमा परेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि उनले  सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय राजनीतिको मर्म र भावनाअनुसार नै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको भन्दै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादीको निर्णयलाई  स्वागत गरेको बताए।

नेपाली राजनीतिको फरक दृश्यमा प्रवेश गरेको बताउँदै नेता पाण्डेले यति छिटो छिटो राजनीतिक मोर्चा बन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने उल्लेख गरे। तर, सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण भने आफूहरूले निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र बाचा अनुकूल रहेको उनको दाबी छ।

निर्वाचनपछि केही समय ‘लिक’ बाहिर पुगेको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको  महसुस भएको पनि उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.