|

चन्द्रौटा : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको बताएका छन्।

अहिलेको सरकारले देशलाई आर्थिक संटकतर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना अहिले रोकिएको बताए।

नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गत शनिवार कपिलवस्तुको सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।

अध्यक्ष ओलीले नेकपा एमाले वैचारिक‚ संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिबीतर्फ धकेल्नेहरूबीचको लडाइँ लडिरहेको दाबी गरे।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्ने जस्ता महत्त्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी भएको दावी गरे। पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई समाजको नमुना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा ओलीले जोड दिए।

प्रशिक्षण कार्यक्रममा एमाले सचिव एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियानमार्फत हुने स्पष्ट पारे।

नेता विश्वकर्माले हालै स्ववियू निर्वाचनको परिणामबाट पनि नेकपा एमालेको शक्ति र पार्टीप्रति युवा पुस्ताको आकर्षण स्पष्ट भएको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.