|

इटहरी : सगरमाथा युथ क्लब विराटचोकले १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधि रक्षा गरेको छ। चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधि रक्षा गरेको हो।

उपाधिसँगै सगरमाथाले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२ औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले उपाधि जितेको थियो  

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो। मनोज राईले पेनाल्टी सुटआउटमा गोल गर्न चुक्दा चर्च व्बाइजले सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाउन पुग्यो।

सगरमाथालाई उपाधि दिलाउन कप्तान महेन्द्र कार्की, अविशेक लिम्बु, मेसुके ओलामाउ, स्टेफेन बिनोङ, राजिव लोप्चन र विवेक बर्माले गोल गरे। चर्चका फ्रयाङकलिन, कप्तान मिलन राई, रन्जित पाण्डे, बेम्पा र गोलरक्षक प्रिसोले गोल गरे। खेलका म्यान अफ दि म्याच चर्चका मौसम लिम्बु घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सगरमाथाका देव लिम्बु, उत्कृष्ट डिफेन्डर विशाल बस्नेत, उत्कृष्ट फरवार्ड स्टेफेन र उत्कृष्ट प्रशिक्षक याम गुरुङ घोषित भए।

उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट मिडफिल्डर चर्चका मौसम लिम्बु र उदीयमान खेलाडी राष्ट्रिय जागृतिका असीम राई घोषित भए। मौसमले २० हजार र असीमले ३२ इन्चको टेलिभिजन पाए।

सर्वाधिक गोलकर्ता मच्छिन्द्रका कप्तान अफिज ओलावाले घोषित भए। ५ गोल गरेका उनले नगद ३० हजार प्राप्त गरे।

सर्वोत्कृष्ट खेलाडी सगरमाथाका कप्तान महेन्द्र कार्की घोषित हुँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा गत चैत्र ४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका ८ टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.