|

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक नगरिएको कार्यालयले जानकारी दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ। त्यहाँ के कति भनेर सार्वजनिक गरिएको छैन। सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउने गरी सार्वजनिक गर्नुपर्नेमा गोप्य राखिएको छ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ भदौ ५ मा  सम्पत्ति सार्वजनिक गरेका थिए। दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले जम्मा ३ तोला सुन र १ कट्ठा जमिन मात्रै रहेको सम्पत्ति विवरण सार्वजानिक गरेका थिए। प्रचण्ड अहिले तेस्रोपटक प्रधानमन्त्री बनेका छन्।

यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका थिए। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विष्णु घिमिरे मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक गर्न नमिल्ने बताउँछन्।

२०७४ को चुनावपछि गठन भएको मन्त्रिपरिषदका मन्त्रीहरूको भने सम्पत्ति विवरण सार्वजनिक भएको थियो। कार्यकालको अन्तिम सयममा केपी शर्मा ओली सरकारमा पाँच सदस्यीय मन्त्रिपरिषद् रहेका चारैजना मन्त्रीहरू भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका थिए।

२०७४ को चुनाव गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गर्दै १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्ना रुवी र मुगाजडित औंठी रहेको उल्लेख गरेका थिए। देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण सम्पत्ति विवरणमा उल्लेख गरेका थिएनन्।

पाँचौँपटक प्रधानमन्त्री बन्दा देउवाले सम्पत्ति विवरण नै सार्वजनिक गरेनन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.