|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सांसद पद खाली हुने सूचना संसदमा पढ्न नपाउँदै निर्वाचन कार्यक्रम  घोषणा गरेकोमा आपत्ति जनाएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले बारा २ को रिक्त पदबारे सदनलाई जानकारी नगराउँदै आयोगले वैशाख १० मै चुनावको घोषणा गरिसकेकोमा आपत्ति जनाएका हुन्। 

उनले जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ लक्षित गर्दै तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन नमिल्ने बताए। 

‘बारा २ मा सांसद पद खाली हुने सूचना संसदमा पढ्न पाएको छैन। उता, निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसक्यो यही रफ्तारमा अरू काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो जस्तो लाग्छ। कसैलाई चाहिँ तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन। यसले निर्वाचन अयोगको निष्पक्षतामाथि प्रश्न उठेको छ,’ उनले भनेका छन्।  

अध्यक्ष राउतले आयोगको उक्त कदमले विश्वसनीयतामाथि प्रश्न उठाएको बताए। उनले भने, ‘निर्वाचन निष्पक्ष रूपमा गराउनुपर्छ। त्यहाँ प्रहरी प्रशासनको दुरुपयोग गराउन हुँदैन।’

बारा-२ मा जसपा अध्यक्ष यादव चुनाव लड्ने तयारीमा छन्। अध्यक्ष राउतले यादवविरुद्ध विभिन्न अभिव्यक्ति दिइरहेका छन्। उनले बारा २ मा उपेन्द्रलाई पराजित गर्न नागरिक उन्मुक्ति र लोसपासँग कार्यगत एकताको घोषणा गरिसकेका छन्। 

साथै अध्यक्ष राउतले उपराष्ट्रपतिमा महिलाको अधिकार खोस्ने काम गरिएको बताए। उनले उपराष्ट्रपतिमा महिलाले महिलालाई सहयोग नगरेकोमा असन्तुष्टि जनाए। जनमतबाट उपराष्ट्रपतिमा ममत झा उम्मेदवार थिइन्। तर, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए। 

‘संविधानको अभ्यास गर्ने उच्च थलो संघीय संसद् हो। संविधानको धारा ३८ ४ मा महिलाका लागि विशेष अधिकार हुँदा हुँदै पनि उपराष्ट्रपतिको निर्वाचनमा महिलाको अधिकार खोस्ने काम गरियो। त्यो समयमा महिला सांसदहरुले महिला अधिकारसमेत लिन नसक्ने अवस्था देखियो भने आम जनताले कसरी लिन्छन् भनेर मलाई दुःख लागेको छ,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.