|

बैतडी : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष पूरा भएको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो।

सातामा बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत वर्षको चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। त्यसयता हवाईसेवा ठप्प छ। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनः सञ्चालन हुन नसकेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ‘यात्रु अभावका कारण उडान हुन नसकेको हो, यात्रु नभएपछि हवाई सेवा बन्द भएको छ।’

समिट एयरले उडान भर्दै आए पनि उसले अबदेखि उडान नभर्ने जनाएको छ। यात्रु नभएपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ। दशैँतिहारका वेला मात्रै एकतर्फी रूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने गरेकाले रद्द गर्न बाध्य भएको उनको कथन छ। उनले भने, ‘यात्रु पाइन छोडेपछि एक वर्षदेखि उडान भर्न पाएनौँ। अब हामीले सम्झौता रद्द गरिदिएका छौं।’

१८ यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिक रूपमा उडान हुँदै आएको थियो। पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको रहेको थियो। १७ मिनेटको हवाई यात्रामा पाँच हजार भाडा तोकिएपछि यात्रु अभाव भएको थियो। शुरुमा हवाई सेवा सञ्चालन हुँदा ३ हजार ८५० रुपैयाँ भाडा थियो। त्यसपछि बढेर पाँच हजार पुगेको हो।

लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिक रूपमा धनगढी जानुपर्ने यात्रु समस्यामा परेका छन्। हवाई सेवा बन्द हुँदा विरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान तथा अन्य कामका लागि जानेलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए। भाडा महँगो भएकाले भाडा घटाएर उडान भर्नुपर्ने उनको भनाइ छ।

करोडौँका संरचना प्रयोगविहीन 
वि.सं. २०३६ सालदेखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ सालदेखि बन्द थियो। पाटन विमानस्थल २६ वर्षपछि २०७७ सालमा पुनः सञ्चालनमा आएको थियोे। वि.सं. २०७७ असोज १७ गते समिट एयरले परीक्षण उडान गरेको थियो।

परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थल निरीक्षण गरेको थियो। त्यसपछि असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा नियमित रुपमा हवाई सेवा शुरु भएको हो।

२०५८ सालमा माओवादी द्वन्द्वका वेला विमानस्थलको टावर र टर्मिनल भवनमा आगो लगाएर ध्वस्त बनाएको थियो। विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका करोडौँका संरचना प्रयोगविहीन बनेका छन्। ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गरेको थियो। विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्गका साथै ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको थियो।

रोयल कन्स्ट्रक्शनले चार करोड ९७ लाखमा टर्मिनल भवन निर्माण सम्पन्न गरेको छ। टर्मिनल भवन निर्माण २०७८ भदौ १ देखि शुरु भएकोमा २०७९ माघ २९ सम्म म्याद रहेकोमा उक्त अवधिमा सबै काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। इन्जिनियर कवीन्द्र काजी बज्राचार्यका अनुसार टर्मिनल भवनमा सिभिल अन्तर्गतका सबै संरचना पूरा छन्।

टर्मिनल भवनमा आगमन कक्ष, प्रस्थान कक्ष, टिकट काउन्टर, रेडियो कक्ष, एटिसी रुम, एयर ट्राफिक कन्ट्रोल रुम निर्माण गरिएको जनाइएको छ। यसका साथै रनवेसम्म जाने बाटो, रनवे साइडको नाला, विमानस्थल सुरक्षा गार्ड भवन पनि निर्माण सम्पन्न भएको इन्जिनियर बज्राचार्यको भनाइ छ।

राज्यको करोडौँ लगानी गरेर निर्मित विमानस्थलमा हवाई सेवा नचल्नु दुःखद रहेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ। उनले भने, ‘विमानस्थल सञ्चालन नहुँदा करोडौँका संरचना बनेर प्रयोगविहीन भएका छन्। राज्यको लगानी सबै खेर गएको छ, हवाई सेवा सञ्चालनका लागि सरोकारवाला सबैको ध्यान जान जरुरी छ।’

हवाई सेवा सञ्चालनमा आए यहाँको पर्यटन प्रवर्धन हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने स्थानीय व्यापारी चक्रबहादुर चन्दको विश्वास छ। विमानस्थल सञ्चालनमा आए पर्यटक भित्र्याउन सजिलो हुनेछ।

उनले भने, ‘भारतसँग सीमा जोडिएको जिल्ला भएकाले हवाई सेवा सञ्चालन भए यहाँ पर्यटक ल्याउन सहज हुने थियो। त्यसले यहाँको व्यापार व्यवसाय बढेर आर्थिक उन्नति पनि हुने देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.