सीता हाइड्रोपावरको लापरबाहीले २ जनाको मृत्यु

|

चौतारा : जलविद्युत् आयोजनाको लापरबाहीबाट करेण्ट लागेर दुईजनाको मृत्यु भएपछि उचित क्षतिपूर्ति माग गर्ने स्थानीयविरुद्ध आयोजनाले उल्टै मुद्दा दर्ता गराएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा निवासी १४ वर्षीया नोर्जी वाङमु लामाको आफ्नै बारीमा आलु रोप्न लागेका वेला विद्युत्‌को पोलबाट करेन्ट सर्ट हुँदा गत फागुन १५ मा  घटनास्थलमै मृत्यु भएको थियो।​

विद्युत् सर्ट हुँदा स्थानीय राजमान लामा र सोमरानी तामाङ गम्भीर घाइते भएका थिए। जुगल गाउँपालिकाको नेसम खोलामा निर्माणाधीन नेसम खोला जलविद्युत् आयोजना र जलविद्युत् आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरले मृतकका परिवारलाई क्षतिपूर्ति र विद्युत्‌का तार व्यवस्थित गर्न माग गर्दा उल्टै २२ जनाविरुद्ध मुद्दा दायर गरेको स्थानीयले बताएका छन्।​

जलविद्युत् आयोजनाले विद्युत्‌बाट सञ्चालन हुने मेसिन सञ्चालनका लागि लगिने नाङ्गो तार व्यवस्थित गर्न माग गरेका छन्। नाङ्गो तारबाट पटक पटक धुवाँ निस्कने र करेण्ट सर्ट हुँदा कुनै पनि वेला थप मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयवासीले आयोजनालाई पटक पटक सचेत गराए पनि बेवास्ता गरेको उनीहरूको भनाइ छ।

जलविद्युत् आयोजनामा कार्यरत मजदुर सरोज थारूको पनि गत फागुन ७ मा करेन्ट लागेर मृत्यु भएको थियो। यसैबीच सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ का प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक र घाइतेका परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिन माग गरेका छन्।​

विज्ञप्तिमा निर्दोष नागरिकमाथि लगाइएको झूटा आरोप सहितको मुद्दा अविलम्ब फिर्ता लिनुपर्ने, असुरक्षित विद्युत् लाइन विज्ञबाट परीक्षण गरी हटाउनुपर्ने र उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्ट तत्काल सार्वजनिक गर्न समेत माग गरेको छ।

सत्ताको आडमा सोझासिधा गाउँलेमाथि डण्डा चलाउने क्रियाकलाप नरोकिए सशक्त प्रतिवाद गर्ने समेत नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले चेतावनी दिएका छन्। स्थानीयको माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम अघि नबढाउन समेत चेतावनी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.