|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम अझै हटेको छैन। केही दिनअगाडि शून्यमा झरेको संक्रमण दर आइतबार करिब २ प्रतिशतमा पुगेको छ।

एकै दिनमा १६ जनामा संक्रमण देखिएको छ भने दुई जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर कोरोनाका ४२ जना सक्रिय संक्रमित पुगेको छ।

केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोनाविरुद्धको खोप लगाउनेहरु पनि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस म्युटेशन हुँदै संक्रमण फैलिँदा नेपालमा अझै कोरोनाको जोखिम उत्तिकै रहेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख एवं स्वास्थ्य प्रशासक डा अभियान गौतमले बताए।

कोरोनाविरुद्धको एक मात्रा पनि खोप नलगाएकाहरु थप जोखिममा रहेको भन्दै उनले खोप लगाउनसमेत अनुरोध गरेका छन्। बाइभ्यालेन्ट खोप नेपालमा पहिलो पटक दिइँदै भए पनि अन्य खोपहरु भेरोसेल, फाइजर जस्तै प्रभावकारी रहेको डाक्टर गौतमको भनाई छ। 

आइतबार एकैदिन १५ हजार ५ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। शनिबार र शुक्रबार क्रमशः २३ र २४ हजारले खोप लगाएका थिए।

अहिले नेपालमा पहिलो र दोस्रो मात्राको रुपमा भेरोसेल खोप दिइरहेको छ भने बुष्टर डोज लगाउनेहरुका लागि नेपालमा पहिलो पटक ल्याइएको बाइभ्यालेन्ट खोप प्रयोग गरिरहेको छ।

यो खोप विश्व स्वास्थ्य संगठन डब्लुएचओ र नेपालकै औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त भएपछिमात्रै दिन शुरु गरेको दाबी खोप शाखाको छ। यो खोप १२ वर्षभन्दा माथिको उमेर समूहलाई बुष्टर डोजको रुपमा मात्रै प्रयोग गरिएको शाखा प्रमुख डा गौतमले जानकारी दिए।

बुष्टर डोजको रुपमा मात्रै प्रयोग गरिएको बाइभ्यालेन्ट खोप नेपालमा ३० लाख मात्रा ल्याइएको छ। यी खोप पूर्ण प्रयोगको सुनिश्चिततापछि मात्रै थप खोप ल्याउने योजना रहेको खोप शाखा प्रमुख डा. गौतमले सुनाए।

बुष्टर डोज दोस्रो मात्रा खोप लगाएको ३ महिनापछि र दोस्रो पटक बुष्टर डोज लगाउन पहिलो बुष्टर लगाएको ६ महिना पुग्नुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले पहिलो मात्रा खोप नलगाएकाहरुलाई पहिलो प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.