|

सुर्खेत : लामो समयपछि कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेशसभा सदस्यले सडक दुर्घटनादेखि बादी समुदायका बालबालिकालाई पढाउन सरकारले ध्यान दिनुपर्नेसम्मका कुरा उठाएका छन्।

कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ हुन नदिन सरकारले चासो नदिएको आरोपसमेत सांसदले लगाएका छन्।

प्रदेशसभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिक सत्र सकिए पनि हालसम्म कुनै किताब नपाएको र नयाँ शैक्षिक सत्र सुरु भएको ठाउँमा समेत किताब नपुगेको बताए।

डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बुढाले कर्णाली प्रदेशका अन्य जिल्लामध्ये डोल्पा सबैभन्दा फरक रहेको महसुस गरेको भन्दै राज्यले ध्यान दिनुपर्ने कुरामा जोड दिए। ‘सडक, पुल‚ विद्युत, शिक्षा, स्वाथ्यमा पछाडि परेकाले  प्रदेश सरकारको ध्यान पनि केन्द्रित गर्न चाहन्छु‚’ उनले भने। डोल्पाका विद्यालयमा वर्षमा ५/६ महिना पनि पढाइ नहुने भएकाले प्रदेश सरकारले बजेट विनियोजन गर्दा त्यसमा पनि ध्यान दिनुपर्ने उनले बताए।

प्रदेशसभा सदस्य गोमता विकले कर्णालीलाई सुनको डल्लो भनिएता पनि त्यसलाई गहनाको रुपमा प्रयोग गर्न नसकिएको बताइन्। उनले गाउँगाउँमा सिंहदरबार पुगेको छ भन्ने भए पनि अझै आम नागरिकले सिंहदरबार आएको अनुभूति गर्न नसकेको बताइन्।

कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रणसिंह परियारले गत भदौमा लामो समय आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त भएका भौैतिक संरचनाको पुननिर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराए।

जनताको अवस्था परिवर्तन नहुनुको पछाडि व्यवस्था नै समस्या भएको बताउँदै प्रदेशसभा सदस्य सन्तोषी शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघीयताको खारेजी, अभिभावकीय संस्थाको पक्षमा उभिनुपर्ने माग गरिन्।

कर्णाली सरकारले कार्यकतामुखी बजेट विनियोजित गर्नु लाजमर्दा भएको बताउँदै प्रदेशसभा सदस्य विजयी बुढाले यो रोक्न माग गरे।

स्वतन्त्र प्रदेशसभा सदस्य देबेन्द्रबहादुर शाहीले कर्णालीका ५ वटा जिल्लाका सडक मर्मत गर्न माग गरे। उनले संघीय सरकारमार्फत उक्त सडक मर्मत गर्न कर्णाली सरकारको ध्यान दिन माग गरे। अर्को बैठक चैत १४ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.