|
फाइल तस्वीर

काठमाडौं : भुटानी शरणार्थीको नाममा गैरशरणार्थीलाई अमेरिका पठाउने गिरोहका मुख्य नाइकेहरु पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरशरणार्थीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका ८१ जनाको पहिचान गरेको जनाएको छ। प्रहरीले मुख्य नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई आइतबार पक्राउ गरेको जनाएको छ।

कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौरले हरेक व्यक्तिसँग १५ देखि २५ लाख रूपैयाँ लिएर एक वर्षमा नै १३ करोड ६३ लाख रूपैयाँ ठगी भएको उजुरी आएको जानकारी दिए।

गिरोहले ५ वर्षयता १ अर्बभन्दा बढी रकम ठगी गरेको अनुमान प्रहरीले गरेको छ। पीडितले ‘ह्याण्डक्यास’ दिएको बताएकाले अनसन्धान गर्न भने समय लाग्ने राठौरले बताए।

‘यसको बारेमा धेरै कुरा निकाल्न बाँकी छ, ८१ जना भनेको धेरै नै हो,’ उनले भने, ‘अहिलेसम्म केशवप्रसाद दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं।’

पक्राउ परेका मोरङका दुलाल स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए। अनुसन्धान कार्यालयका प्रवक्ता रौठोरले पक्राउ परेकाहरुविरुद्ध ठगीमा मुद्दा दर्ता भइसकेको जानकारी दिए।

भुटानी शरणार्थी शिविरमा बाँकी रहेकाहरुलाई तेस्रो देश पुनर्वास गराउने नाममा शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा हाइप्रोफाइल व्यक्तिहरुको संलग्नता रहेको आशंका गरिएको छ। गैरशरणार्थीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पत्ता लगाउन अहिले अनुसन्धान चलिरहेको छ।

शरणार्थीको नाममा गैरशरणार्थीलाई तेस्रो देश पठाउने खेल हुने देखेर नै आफूले सुरुमै भुटान फर्केर मात्रै तेस्रो देश जान पाउनुपर्ने भनेको भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले बताए।

‘पहिल्यै विदेश लैजान आँट्दा नै विरोध गरेको थिएँ, पहिले यी मान्छे विदेश लैजाने हो भने पहिला हामी भुटान फर्कनु पर्छ, भुटान फर्केर भुटानको नागरिकता लिएपछि अनि लैजाउ बाहिर भनेँ तर मेरो कुरा सुनुवाइ भएन,’ रिजालले भने, ‘सुनुवाइ नभएको प्रतिफल आज यस्तो भयो, मैले त्यस टाइममै भनेको थिएँ।’

उनले तेस्रो देश पुनर्वास गराउने काम स्थायी समाधान नभएको पनि बताए। ‘भुटानका जेलमा रहेका बन्दी छुटेका छैनन्, यो एकै पटक सम्बोधन हुनुपर्छ भन्ने मेरो भनाइ थियो। सम्बोधन नभइ मान्छे गए, रहेका मान्छे आएपछि अहिले तनाव निस्कियो,’ रिजालले भने, ‘हामी अहिले पनि भुटान फर्कन पाउनुपर्छ भन्नेमै छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.