|

बागलुङ : बागलुङ बजार आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो। तर यहाँको अस्तव्यस्त संरचनाका कारण पर्यटकले हैरानी खेप्नु परेको छ। 

साँघुरो बजार त्यहीँमाथि अव्यवस्थित सडक। सडकका छेउछाउमा छन्, विद्युतका पोल। पोलमा विद्युतको मात्र तार छैनन्। विभिन्न टिभी केवल र इन्टरनेटका तार अस्तव्यस्तरुपमा टाँगिएका छन्। पोलबाट तार चुँडिएर भुइँमा लत्रिएका छन्। 

लत्रिएका तार व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान पुगेको छैन। विद्यत पुलमा अव्यवस्थित रूपमा टाँगिएका तारले बागलुङ बजारलाई  कुरूप बनाइदिएको छ। बागलुङ नगरपालिका, विद्युत प्राधिकरण र नेपाल टेलिकमले बेला–बेलामा बजारको सौन्दर्यीकरणका लागि पुराना तार र विद्युतका पोल हटाउने अभियान चलाए पनि अहिले त्यसले पूर्णता पाउन सकेको छैन। बजार क्षेत्रका सडकमा जीर्ण बनेका पुराना पोलसमेत हटेका छैनन्। 

सडकमा लत्रिएका तार र जीर्ण विद्युतका पोलले दुर्घटनाको जोखिम बढाएको स्थानीय उमेश गौतमले बताए। विद्युत प्राधिकरण, नेपाल टेलिकम र बागलुङ नगरपालिकाले तत्काल तार व्यवस्थापनको व्यवस्थापन गर्नु पर्ने उनले बताए। अव्यवस्थित तारले बजारलाई कुरूप बनाएको गौतमको भनाइ छ। मुख्य बजारमा यस्तो समस्या हुँदा सरोकारवाला निकाय मुकदर्शक बनेको उनको भनाइ छ।

‘यति सुन्दर बजारमा तारको सही व्यवस्थापन नहुँदा यस्तो कुरूप बनेको छ। एउटै पोलमा सयौँ तार छन्। यसको व्यवस्थापनमा कसैले ध्यान दिएको छैन, मुख्य बजारदेखि चोकचोकका पोलमा अव्यवस्थित रुपमा झुण्डिएका तारले बागलुङ आउने आगन्तुकलाई गिज्याईरहेको छ’, उनले भने, ‘सडकमा यात्रा गर्ने यात्रुलाई पनि जोखिक भयो, पोलबाट खसेको तारले करेन्ट लागे को जिम्मेवार हुने?, ताल र अल्झिएर कोही लड्यो भने त्यसका जिम्मा कसले लिने ?’

स्थानीय अनिष खातीले यो समस्या वर्षौँदेखि हुँदै आएको भन्दै अहिलेसम्म समाधान गर्न नगरपालिकाले तदारुकता नदेखाएको बताए। मुख्य बजारको चोक–चोकदेखि पसल अगाडि पनि तार झुण्डिँदा पैदल यात्रु अल्झिएर लड्ने गरेको उनी बताउँछन्।

‘चोक–चोकमा यो समस्या छ, धेरै पटक केटाकेटी तारमा अल्झिएर लडेको देखेको छु, तारहरु लथालिङ्ग छन्। ठूला गाडी आयो भने सबै तार चुँडाल्छ, अनि सबै भुइँमा झर्छन्,’ खातीले भने, ‘समय–समयमा बागलुङ बजारको सौन्दर्यकरणका विषयमा बहस हुने गरे पनि काम भने अगाडि बढ्न सकेको छैन बजेट पनि छुट्याउँछन्, कहाँ हाल्छन् थाहा हुँदैन। नगरपालिकाले चाह्यो भने धेरै समय पनि लाग्दैन।’

बागलुङ नगरपालिका–१, २, ३ र ४ मा बजार क्षेत्र पर्छ। रामरेखा र उपल्लाचौरका चोकमा पनि यो समस्या छ। बागलुङ नगरपालिकाले भने बजारको सौन्दर्यकरणका लागि काम गरिरहेको नगर उपप्रमुख राजु खड्काले बजार क्षेत्रलाई सौन्दर्यकरण गर्ने कार्य सुरु भएको बताए। खड्काले विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग सहकार्य गरे पुराना तार तथा पोल हटाउन थालेको भन्दै सौन्दर्यकरणका लागि अन्य कामसमेत भइरहेको बताए।

‘बागलुङ बजार पर्यटकीय आकर्षणको केन्द्र हो, यहाँ अहिले पनि मौलिक सम्पदा छन्। त्यसले गर्दा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु आएको पाएका छौँ’, उपप्रमुख खड्काले भने, ‘बजार क्षेत्रमा केही समस्या छ। तर समाधान गर्नेतर्फ लागिरहेका छौँ। अव्यवस्थित पोल तथा तार हटाउन सुरु भएको छ। केही दिनमा यो समस्या समाधमा हुन्छ।’

खड्काले बजार क्षेत्रमा सिसी क्यामेराको व्यवस्थापन गर्ने बताए। बजारमा नेपाल टेलिकमलेसमेत तामाको अव्यवस्थित तार हटाएर फाइवर जडित तार प्रयोग गर्दा सहज हुने भन्दै त्यसतर्फ पनि सहकार्य गर्न थालेको उनको भनाइ छ। विद्युत प्राधिकरणले नयाँ पोल राखेपछि टेलिकमले नयाँ फाइबर तारसमेत नयाँ पोलमा राखे पनि इन्टरनेट र केबलको तार अझै पुरानै पोलमा राख्दा समस्या भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.