|

काठमाडौं : काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी सोमबार ६२ औं रंगमञ्च दिवस मनाइएको छ।

रंगमञ्च दिवसका अवसरमा नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भए पनि अझै रंगकर्मीले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताए।

उनले अझैसम्म पनि रंगकर्मीले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको बताए। अभिनेता खनालले रंगकर्मीहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाए।

उनले भने, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौँ तर पनि हाम्रो स्थिति त्रिपालमुनि नै रहेछ, दयनीय नै रहेछ, श्रमिकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ।’

अभिनेत्रीसमेत रहेकी प्रतिष्ठानकी कुलपति निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन्। उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन्।

उनले भनिन्, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्नसक्ने थियौँ। हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेकी छु। हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ।’

अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिले मात्रै रंगमञ्चको विकास र विस्तार हुने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.