|

काठमाडौं : नेपाल नेत्रज्योति संघले एक वर्षमा ३० लाख ७ हजार २९१ मानिसको आँखाको परीक्षण र उपचार गरेको छ।

सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरूका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३० लाख ७ हजार २९१ जनाको आँखाको परीक्षण गर्नुका साथै २ लाख ७२ हजार ९५० जनाको आँखाको सफल शल्यक्रिया गरेको सोमबार नेत्रज्योति दिवसका अवसर संघले आयोजना गरेको कार्यक्रममा संघका महासचिव  भरतबहादुर चन्दले जानकारी दिए।

स्थापनाका ४४ वर्ष पूरा गरि ४५ वर्ष लाग्दै गर्दा हालसम्म संघले लाखौं मानिसमा आँखामा ज्योति छरिसकेको छ। हाल देशभरमा नेत्रज्योति संघअन्तर्गत २७ वटा आँखा अस्पताल र १५० वटाभन्दा बढी आँखा उपचार केन्द्रहरुका साथै ४४ वटा जिल्ला शाखाहरु सञ्चालनमा छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा संघले अन्धोपनको पछिल्लो जानकारी पाउनका लागि नेपालमा सन् २०१९/२० मा गरेको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को शून्य दशमलव ८४ प्रतिशतबाट घटेर सन् २०२० मा शून्य दशमलव २८ प्रतिशतमा झरेको थियो।

सभामुख देवराज घिमिरेले नेपालको आँखा उपचार क्षेत्रमा संघको योगदान धेरै रहेको समेत बताए। उनले विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताए।

उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न पनि नेपाल नेत्र ज्योति संघलाई आग्रहसमेत गरेका छन्।

सभामुख घिमिरेले भने‚ ‘संघले अब केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरूसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रुपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु। अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुकभित्रको रुपबाट चर्चित छ।’

संघ नेपालीलाई सस्तो, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा घर आँगनमै पुर्‍याउने उद्देश्यसहित विसं २०३५ चैत १३ गते स्थापित नेपालीको आँखा स्वास्थ्य सेवामा समर्पित एक गैरनाफामूलक सामाजिक संस्था हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.