|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा छन्। मंसिर ४ गतेको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादव यसपटक बारा–२ मा केन्द्रित भएका छन्।

उनले पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराएका हुन्। यसले यादव ‘जस्केला’ बाट भए पनि संसद यात्रा गर्ने र सत्तामा राज गर्न चाहेको प्रष्ट हुन्छ। 

उनलाई रोक्न सिके राउत ‘दिलोज्यान’ दिएर लागि परेका छन्। राउत दोस्रो पटक पराजयको स्वाद चखाउन चाहन्छन् भने यादव जसरी पनि संसद छिर्न चाहन्छन्। राउतका पछिल्ला अभिव्यक्तिहरू उपेन्द्रविरूद्ध केन्द्रित छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा उपेन्द्रप्रति सिके रूष्ट देखिए। बारा–२ मा सांसद पद रिक्त भएको सूचना संसद सचिवालयमा नआउँदै आयोगले वैशाख १० का लागि निर्वाचन घोषणा गरेकाले राउतले असन्तुष्टि जनाएका हुन्।

उनले यादवतर्फ लक्षित गर्दै भने, ‘कसैलाई मन्त्रीबिना ३/४ महिना बाँच्नै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन। यसले निर्वाचन आयोगको विश्वसनियतामाथि प्रश्न उठाएको छ।’

केही दिन अगाडि बारामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउत चोर बाटोबाट यादव सदनमा जाने प्रयास गरिरहेकाले उनलाई रोक्नुपर्ने भन्दै जंगिए।

‘बारामा कोही माइकलाल जन्मिएको छैन र यहाँ बाहिरको फिरङ्गी  उम्मेदवार आउनुपर्छ’,उनले भने, ‘जनता होसियारी पूर्वक नियालिरहेका छन्। जनता यति पनि मुर्ख छैनन् लोकतन्त्रको हत्या गर्नेलाई सदनमा पठाउन। जनताले निर्वाचनबाट जवाफ दिइसकेका छन्। उसको कर्मको सजाय जनताले दिइसकेका छन्। फेरि पनि चोर बाटोबाट आइरहेका छन्। संविधानलाई छिद्र बनाएर चोर बाटोबाट आउन खोजिरहेका छन्। चोर बाटोबाट संसद छिर्न खोजिरहेका उनलाई जनताले जवाफ दिनेछन्।’

राउतले बारा–२ मा उपेन्द्रलाई टक्कर दिन सक्ने उम्मेदवारको खोजि गरिरहेका छन्।

उपेन्द्रको सत्तामोह, जनताका मुद्दा बेवास्ता

०६३ सालको मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादव त्यसयता निरन्तर सत्तामा छन्। २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएसँगै यादव थप चर्चित हुन थाले। त्यसअघिसम्म गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीले एकछत्र राज गरेको थियो। तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम संविधानको विरोधको नेतृत्व गरे।

उनले संविधान जलाउने, मधेशी जनतालाई आफ्नो हातमा लिन थाले। यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमले मधेशमा एकछत्र राज गर्यो। पहिलो संविधानसभा निर्वाचनमा  यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले ५६ सिट जितेको थियो।

तर, निरन्तर सत्तामा जाने र सत्ताबाट बाहिरिएलगत्तै आन्दोलन गर्ने प्रवृत्तिले उनको एकछत्र राज खण्डित हुन पुग्यो। पार्टी नै विभिन्न टुक्रामा विभाजित हुन थाल्यो।  अहिले उनी नेतृत्वको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी जम्मा १२ सिट जितेको छ।

सिके–उपेन्द्र टकराव

सिके राउत र उपेन्द्र यादव मधेश मुद्दा बोकेर उदाएका नेता हुन्। तर, दुवै नेताहरूले एकअर्काको अस्तित्व स्वीकार गर्दैनन्। यद्यपी दुवै नेताको राजनीतिक पृष्ठभूमि विवादमुक्त छैन।

​यादवको नाम ०६३ सालको अन्तरिम संविधान जलाउँदै गौर हत्याकाण्डमा पनि मुछिएको छ। यादव नेतृत्वको फोरमले ०६३ चैत ७ गते गौरमा एमाले र माओवादी केन्द्रका २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या गरेका थिए। त्यसको अपजस यादवमाथि आउने गरेको छ।

यता सिके राउतले पनि विवादमुक्त राजनीति गर्न सकेनन्। उनले छुट्टै मधेश राज्यको माग गर्दै राज्य द्रोहको आरोपमा पटक-पटक जेल जीवन बिताइसकेका छन्।

राउतले आफूले उठाएका मुद्दामा जनताले साथ नदिएपछि मूलधारको राजनीतिमा आए। २०७५ साल चैत २४ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले ११ बुँदे सहमति गर्दै राउतलाई मूलधारको राजनीतिमा फर्काएका थिए।

मधेशमा मूल राजनीतिक गरिरहेका राउत मधेशमा जनताले भोगेका समस्या उठाइरहन्थे। सोही अनुसार गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा उनले उम्मेदवारी दिए जहाँबाट यादव पनि चुनाव लड्दै थिए।

०७४ सालमा सप्तरी २ बाट विजयी भएका यादव यसपटक पनि बाजी मार्न चाहन्थे। उपेन्द्रले नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लडे। तर, जनता माझ लोकप्रिय राउतका अगाडि उनको जोड चलेन। राउतले ३५ हजार ४२ मत पाउँदा यादवले १६ हजार ९७९ मत मात्रै पाए।

राउत र यादवबीचको टकराव उपराष्ट्रपति निर्वाचनमा सतहमा आयो। १० दलीय गठबन्धनमा रहेका दुवै दलले उपराष्ट्रपतिमा उम्मेदवारी दिए। राउतले महिलालाई उम्मेदवार बनाउँदा यादवले पुरुष र महिला दुवै उम्मेदवार बनाए।

किनकि उनले पुरुष उम्मेदवारविरुद्ध सर्वोच्च अदालतमा उजुरी परे महिलालाई उपराष्ट्रपति बनाउने बाटो खुला राखेका थिए।

तर, अर्को दललाई दिन राजी भएनन्। सोही बमोजिम यादवले रामसहायप्रसाद यादव र  प्रमिला कुमारी यादवलाई जसपाबाट उम्मेदवार बनाएका थिए। भने राउतले जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार खडा गरे। साथै राउतले यसअघि नै नागरिक उन्मुक्ति पार्टी र लोसपासँग कार्यगत एकता गरेर यादवलाई च्यालेञ्ज दिइसकेका थिए। 

शान्तिपूर्ण राजनीतिमा आएपछि राउत जनताको मुद्दामा केन्द्रित छन्। तर, यादव मधेश मुद्दा बिर्सिएर सत्ता केन्द्रित राजनीतिमा रमाए। राउत जनताको मुद्दा बोकेर जनतामा लोकप्रिय हुन थालेपछि यादवको ‘चार्म’ मधेशमा खस्किएको छ।

राउतले सदनमा जनताको मुद्दालाई सशक्त रूपमा उठाउँदै आइरहेका छन्। उनी मधेशी जनताले कृषिमा भोगेको समस्या, वैदेशिक रोजगारीमा पाएको पीडा, मिटरव्याज पीडितका आवाज बोल्ने गर्छन्। तर, यादव आफू सांसद हुँदा जनताको मुद्दामा केन्द्रित नभइ केवल सरकारमा जाने र केही थान मन्त्री पाएर सत्तामा रमाउने गरेको आरोप लाग्दै आइरहेको छ।

०७४ सालको निर्वाचनमा संविधान संशोधन, नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता गरेर चुनाव जितेका यादवले जनताका मुद्दालाई वेवास्ता गरेपछि सिके राउत मधेशी जनताको रोजाइमा परेका हुन्। राउतले गठबन्धनको सरकारमा आफू जान चाहेनन्। उनले आफ्ना प्रतिनिधि सरकारमा पठाए।

राउतले चाहेको भए प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित राम्रै मन्त्रालय पाउने थिए। तर, उनी निरन्तर जनजीविकाका मुद्दामा मात्रै केन्द्रित भइरहेका छन्। यादव भने मन्त्री बन्न सांसदको चक्करमा दौडिरहेको आरोप लाग्ने गरेको छ।

यादवले आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको सिके राउतको आरोप छ। उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे।

‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ। तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन्।’

राउत र यादवबीच द्वन्द्वको सुरूवात जनकपुरमा भएको किसान आन्दोलनसँग जोडिन्छ। ०७८ कात्तिकमा किसान आन्दोलनका क्रममा राउतका कार्यकर्ताहरूले जनकपुरमा खानेपानी तथा ढल निकास कार्यालय प्रमुखलाई मोसो दले। तर, जसपाका कार्यकर्ताहरू जनमत पार्टीविरूद्ध आन्दोलनमा उत्रिए।

उनीहरूले जनमत पार्टीको पार्टी कार्यालयमा तोडफोड गरे। त्यसपछि जनमत र जसपाका कार्यकर्ता एक अर्कालाई सत्रुतापूर्ण व्यवहार गर्दै आइरहेका छन्। गत वर्ष जसपाबाट मन्त्री बनेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले डा. राउतलाई गौर हत्याकाण्ड जस्तो मारिदिने धम्की दिएकी थिइन्।

उनले भनेकी थिइन्, ‘यदि तुफानसँग टक्रायौँ भने तपाईंको त्यही हालत हुन्छ, जो गौरको राइस मिलमा भयो। त्यो इतिहासलाई नभुल्नुस्। म डाक्टर साहेबलाई यतैबाट भन्छु– कोही एक बिरामी मर्छन्। र, तपाईँलाई घेराबन्दी पारेर मारिदिन्छन्। त्यसैले सतर्क हुनुहोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.