|

काठमाडौं : मधेशदेखि न्याय खोज्दै काठमाडौं आएका बर्दिबासका मिटरव्याजपीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरु खुलामञ्चको गेटअगाडि सडकमा नै नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन्। खुल्लामञ्चभित्र छिर्न खोजेका प्रदर्शनकारीहरू र महानगरका प्रहरीबीच ठेलमठेल तथा घम्साघम्सीको स्थिति भएको छ। 

उनीहरूलाई रोक्न करिब २ घण्टा अघिदेखि नै महानगरले ठूलो मात्रामा प्रहरीहरू खटाएर राखेको छ।

खुल्लामञ्चको गेटमा आइपुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजिरहेको छ भने आन्दोलनकारीहरू महानगरविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई खुलामञ्चमा छिर्न नदिने बताएका छन्।

उनले ती पीडितहरूको लागि पशुपतिमा ठाउँको व्यवस्था गरिसकेकाले त्यहीँ जानसमेत आग्रह गरे। उनले भने, ‘खुलामञ्चमामा जाने नै होइन, हामीले पशुपतिको धर्मशालामा व्यवस्था गरिसकेका छौँ, त्यहाँ जान्छन्, खुलामञ्चमा हुँदैन।’

सरकारलाई दबाब दिन मिटरव्याजपीडितहरू काठमाडौं आएका हुन्। उनीहरूले खुलामञ्चमा धर्ना दिने कार्यक्रम रहेको बताइएको छ। उनीहरू ११ दिनको पैदल यात्रा गरेर न्याय खोज्दै काठमाडौं आएका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.