|

जनकपुरधाम : मधेशकेन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन्। 

मधेशकेन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सदभावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सदभावना पार्टीले सोमबार लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको घोषणा गरेका हुन्।

मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ।

अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेश आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेशको सही प्रतिनिधित्व गर्ने बताए।

उनले मधेशको मुद्दाको मसाल आफूहरुले अगाडि बढाउने बताए। मधेश आन्दोलनलाई अगाडि बढाउन मोर्चा गठन गरेको उनको भनाई छ।

उनले भने‚ ‘मधेश आन्दोलनका स्वघोषित वारिसहरु सत्ताको स्वाद चाख्नका निमित्त मधेशका मुद्दाहरुलाई बिसाए र मधेशविरोधीहरु मधेशका मुद्दालाई छाडे। आजको स्थिति यही छ। त्यसकारण मधेशको मुद्दाको मसाललाई हामी अगाडि बढाउँछौँ। मधेशको मुद्दाको ज्योति, मधेशको आन्दोलनलाई हामी अगाडि बढाउँछौँ भन्ने अठोटका साथ हामी चारवटा पार्टीहरु एक ठाउँमा जम्मा हुने निर्णय गरेका छौँ। एकजुट हुने निर्णय गरेका छौँ‚ सहकार्य गर्ने निर्णय गरेका छौँ।’

मोर्चाको अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेशी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ।

मोर्चाले पहिचानमा आधारित रहि प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मानको माग गरेको छ।

राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिकालगायत विषयमा संविधान संशोधनको माग गरेको छ।

संविधानमा भएकै व्यवस्थासमेत अभ्यासमा पन्छाइने र बेवास्ता गर्ने काम भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्मअनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ।

मोर्चाले स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने लगायतका विभिन्न मागहरु राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.