|

काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।

समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालिका थियो। अफगानिस्तानअघि प्यालेस्टाइनले पनि आफ्नो नाम फिर्ता लिएको थियो।

भियतनामको टोली प्रतियोगिता शुरु हुनुभन्दा २ दिनअघि चैत २० गते नेपाल आइपुग्नेछ।

फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको हो। 

उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ। एशियाली राष्ट्रलाई विभिन्न ७ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ।

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ ३ सय र भिआइपी प्यारापिटतर्फ १ हजार तय गरिएको एन्फाले जनाएको छ। उक्त प्रतियोगिताका लागि करिब ४३ लाख रूपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.