|

पर्वत : जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूले केही समय अगाडि विद्यालयमा शैक्षिक सामग्रीहरूको प्रदर्शनी राखे। प्रदर्शनीमा धेरैको ध्यान तान्यो मानव कंकालले। मानिसको ‘अस्थिपञ्जर’ प्रणालीको बारेमा अध्ययन गर्नका लागि उपयोगी हुने गरी विद्यार्थीहरूले तयार परेको ‘अस्थिपञ्जर’ डरलाग्दो थियो। साँच्चिकैको मानव शरीरको अस्थिपञ्जर भन्दा फरक नहुने गरी कक्षा नौ मा अध्ययनरत सफल बि.क र शिवम चौधरीले अस्थिपञ्जर निर्माण गरेका थिए।

कक्षा सातमा अध्ययनरत समीप पौडेलले प्लास्टिकको बोतलमा ‘मोटर’ जडान गरेर बनाएको ‘भ्याक्युम क्लिनर’ सामाजिक सञ्जालमा नै ‘भाइरल’ बन्यो। जमिनको सतहमा रहेको फोहोर तानेर बोतलभित्र लगेर सङ्कलन गरेको त्यो अभ्यास हेर्दा ‘रोबोट’ ले नै काम गरेको जस्तो देखिन्थ्यो।

विद्यालयमा अध्ययन गर्नुपर्ने पेसा, व्यवसाय र प्रविधि शिक्षामा तरकारी र फलफूल खेतीदेखि नेपालका परम्परागत औजार र सामग्रीहरूको बारेमा अध्ययन गरेका उनीहरूले ती सामग्रीहरू आफैले निर्माण गरेर सबैलाई देखाए। ढिकी, जाँतो, सिलौटो, ओखल, पानी घट्ट, लगायतका परम्परागत स्थानीय उपकरणहरू आजभोलिका विद्यार्थीहरूले देख्न पाउँदैनन् भन्दा फरक पर्दैन।

तर नारायण माध्यमिक विद्यार्थीहरूले तस्वीरका आधारमा खोजेर होस वा पुरानो पुस्तासँग सोधेर नै किन नहोस् ढिकी, डोको, नाम्लो, चुल्हो, थुन्से लगायतका सामग्रीहरू देखाउँदा हेर्ने विद्यार्थीहरू पनि दङ्ग देखिन्थे। पेसा व्यवसाय बाहेकका विषयमा पनि उनीहरूले प्रयोगात्मक रूपमा नै सामग्रीहरू बनाएर देखाए।
‘तरकारी र फलफूल खेतीको अभ्यास गरेर देखाउनको लागि बजारमा जग्गाकै समस्या छ। तर विषयगत रूपमा तयार पार्न सम्भव भएका सामग्रीहरू बनाएर तिनैलाई प्रयोग गर्दै आएका छौँ। ढिकीले यसरी अनि फल्थ्यो भनेर भाषामा भन्नुभन्दा सानै भए पनि ढिकी बनाएर अन्न तयार पारेर देखाउनु व्यवहारिक हो’, विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेल भन्छन्, ‘आफ्नै आँखाले प्रत्यक्ष देखेको कुरा विद्यार्थीमा लामो समयसम्म स्टोर भएर बस्छ। भाषागत रूपमा बोलेका कुरा चिरस्थायी नहुने भएकाले सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक शिक्षामा हामीले जोड दिइरहेका छौँ।’

जिल्लाकै मोदी गाउँपालिका–२ देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयका विद्यार्थीहरू पनि कक्षाकोठामा नै अम्रिसोको कुचोहरू बनाउन व्यस्त देखिन्छन्। कुचो बनाउने, भेडा बाख्रामा लाग्ने रोग, प्रविधिको प्रयोग, जडीबुटीको प्रयोग, तरकारी खेती लगायतका बारेमा प्रयोगात्मक रूपमा नै सिक्नुपर्ने पाठ्यक्रमको लक्ष्य अनुसार बिद्यार्थीहरुलाई कक्षाकोठामा नै कुचो बनाउन सिकाइएको हो। पेसा, व्यवसाय तथा प्रविधि शिक्षा अध्यापन गराउँदै आएका शिक्षक महेन्द्र लामिछाने पाठ्यपुस्तकमा भनिएका सीपहरूलाई सकेसम्म प्रयोगात्मक रूपमा नै गरेर सिक्दा विस्मरणको चिन्ता नहुने बताउँछन्। पेसा, व्यवसाय र प्रविधि शिक्षामा गाउँघरमा दैनिक रूपमा अभ्यास गर्दै आएका कुराहरू समावेश भएका कारण पनि प्रयोगात्मक रूपमा सिकाउन सहज भएको उनको भनाइ छ।
जननेत्रका विद्यार्थीहरूले कुचो मात्रै होइन विद्यालयमा खाजा खानको लागि च्याउ समेत उत्पादन गर्ने गरेका छन्। पाठ्यक्रममा च्याउ उत्पादनको बारेमा अध्ययन गरेका उनीहरूले घरमा पनि च्याउ खेती गर्दै आएका छन्। बिहान बेलुकाको समयमा च्याउ लगायतका तरकारी घरको करेसाबारीमा फलाउने विद्यार्थीहरूले दिउसो विद्यालयमा च्याउ खेती गर्ने गरेका शिक्षक भूमिराज शर्मा बताउँछन्।

जिल्लाकै फलेवास नगरपालिका–५ देवीस्थानमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयका बिद्यार्थीहरु विद्यालय समयमा पनि करेसाबारीमा भेटिने गर्छन्। ठुलो क्षेत्रफलमा सम्भव नभए पनि थोरै ठाउँमा उनीहरूले तरकारी खेती गर्दै आएका छन्। पाठ्यक्रममा समावेश भएकै विषयवस्तुको उद्देश्य पूरा गर्नका लागि सहज हुने तथा व्यवहारिक शिक्षाको आर्जनको लागि पनि प्रयोगात्मक सिकाई उपयुक्त हुने भएकाले थोरै ठाउँमा भए पनि विद्यार्थीहरूले तरकारी खेती गर्दै आएको शिक्षक लक्ष्मीप्रसाद शर्मा बताउँछन्।

विद्यार्थीहरूले नै लगाएको आलुको उत्पादन राम्रो भएकाले आगामी वर्षदेखि उत्पादनमा अझै जोड दिने उनको भनाइ छ।
गुणस्तरीय शिक्षाको खोजीमा गाउँघरबाट बजारमा बसाई सर्ने क्रम बढेसँगै गाउँहरू रित्ता बन्न थालेका छन्। गाउँ गाउँमा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कुरा जोडतोडका साथ चलिरहेको बेलामा विद्यालयहरूले थालेको यो अभ्यासले सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षाप्रतिको अग्रसरता देखाएको कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी बताउँछन्। विद्यालयहरूले घोकाइमा मात्रै भन्दा बुझाई र भोगाइमा केन्द्रित हुने शिक्षा प्रदान गर्न नसक्ने देशमा शैक्षिक बेरोजगारीको अवस्था झनै बढ्न सक्ने भन्दै उनले पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले गरेका फरक अभ्यासहरूले भने उत्साहित बनाएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.