|

इलाम : नेपालमा प्यारापिट भरी दर्शक बटुल्ने केही प्रतियोगितामध्येमा पर्छ इलामको माइभ्याली गोल्डकप। दर्शक प्यारापिटमा नअटार घरका बार्दली र छतबाट समेत फुटबल हेर्छन् इलाममा।

त्यति मात्र हैन मैदान बाहिर बसेर हेर्नेले पनि टिकट काट्ने गरेका छन्। इलामेले माइभ्याली गोल्डकपलाई भव्य रूपमा लिन्छन्। प्रतियोगिताका वेला इलामवासी पसल बन्द गरेर पनि फुटबल हेर्न टुँडिखेल पुग्छन्।

दर्शक जुटाएको इलामसँग आफ्ना खेलाडी भने छैनन्। प्रतियोगिता आयोजक माइभ्याली फुटबल क्लब इलामको जिल्ला लिग खेल्ने टोली हो। हरेक वर्ष जिल्ला लिगमा माइभ्यालीको प्रतिनिधित्व हुन्छ तर माइभ्याली गोल्डकपमा घरेलु टोलीमा स्थानीय खेलाडी वर्षेनि घट्दो छन्।

चौथो संस्करणमा इलाम बाहिरका केही खेलाडी समेटेको आयोजकले पाँचौँ संस्करणमा इलामका विभिन्न पालिकाबाट खेलाडी छनौट गरेर सहभागिता जनाएको थियो।

कोभिड संक्रमणका कारण लकडाउन हुनुभन्दा केही दिनअघि मात्र सम्पन्न छैटौँ संस्करणको प्रतियोगिताको फाइनलसम्म पुगेको टोलीमा अफ्रिकी खेलाडीहरू समेत थिए। मच्छिन्द्रविरुद्ध कडा प्रतिस्पर्धा भएको खेलमा वर्षाका बाबजुद पनि इलामेले साथ दिए।

एकेडेमी बनाउने काम कहिलेबाट?

माइभ्याली गोल्डकप आयोजकहरूले खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेको बताए पनि अहिलेसम्म प्रक्रियासम्म शुरु भएको छैन।

तेस्रो संस्करणको पूर्वसन्ध्यामा क्लबका तत्कालीन अध्यक्ष धिरेन चेम्जोङले भनेका थिए, ‘माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको मुख्य लक्ष्य भनेको इलाममा फुटबलर जन्माउने हो। प्रतियोगितापछिको इलाममा फुटबल एकेडेमी सञ्चालन गर्न पहिलो औपचारिक बसाइ प्याब्सन र एनप्याब्सनसँग हुनेछ। एन्फाले पनि यसअघि पहाडी जिल्लामा एकेडेमी सञ्चालनका लागि इलाम छानेको थियो तर एन्फाभित्रकै आन्तरिक विवादका कारण बजेट रोकिएकाले चुपचाप बस्नु परेको हो। लामो समयसम्म विवाद नसुल्झिएपछि अब एन्फाको बाटो मात्र नहेरी इलामको आन्तरिक स्रोतको सदुपयोग गरी एकेडेमी सञ्चालनमा ल्याउनेछौँ। त्यसका लागि प्याब्सन र एनप्याब्सनसँग छलफल भइरहेको छ।’

‘प्रतियोगितापछि अन्तिम निष्कर्षमा पुग्छ। त्यसको आशय माइभ्याली र जिल्ला फुटबल संघले एकेडेमी सञ्चालन गर्न कम्तीमा २५ जनासम्म फुटबलरलाई छात्रवृत्ति दिएर पढ्ने/बस्ने व्यवस्था मिलाएर फुटबलको प्रशिक्षण लगायतमा उनीहरूलाई सक्रिय बनाउनेछ।  इलामबाट देशलाई नवयुग श्रेष्ठ जस्ता दर्जनौँ फुटबल जन्माएर दिने हाम्रो योजना छ। इलामले जस्तो सफलता पाउनुपर्ने हो त्यति नभइरहेको कारण हामीले फुटबल क्षेत्रमा ठूलो लगानी गरिरहेका छौँ। एकेडेमी इलाममा सञ्चालन भएपछि राष्ट्रिय टोलीमा इलामको प्रतिनिधित्व बाक्लो होस् भन्ने चाहना हो’, उनले भनेका थिए।

चेम्जोङले नवयुग श्रेष्ठ जस्ता  खेलाडी जन्माउने बताउँदै गर्दा सिनियर राष्ट्रिय टोलीमा नवयुगले डेब्यु गरेको २ वर्ष पनि भएको थिएन। अहिले नवयुग संन्यासको सँघारमा पुग्दा पनि इलाममा एकेडेमी बनाउने प्रक्रिया शुरु भएन। अझ माइभ्याली गोल्डकपमा इलामका खेलाडीको प्रतिनिधित्व समेत घट्दो छ।

चेम्जोङले क्लबको अध्यक्षमा राजीनामा दिएपछि यो वर्ष एन्फाबाट सातौँ संस्करणको प्रतियोगिता आयोजनाका लागि समय पाए पनि मैदानको समस्या र क्लबको सहभागिता सुनिश्चित नहुँदा आयोजना हुन् सकेन। एकेडेमी निर्माणका लागि मैदान नहुँदा प्रक्रिया रोकिएको चेम्जोङ बताउँछन्।

‘इलाममा मैदान भनेको नेपाली सेनाको टुँडिखेल हो। त्यहाँ एकेडेमीको मैदान बनाउने कुरा भएन। आफ्नो मैदान नदेखाई प्रोजेक्ट सञ्चालन नगर्न नसकिँदो रहेछ। इलाममा भलिबल खेल्ने ठाउँ समेत छैन, फुटबल मैदान बनाउने कुरै भएन। पहाडी क्षेत्रमा फुटबल एकेडेमीका जग्गा पाउने समस्या छ’, घरेलु टिमको सन्दर्भमा चेम्जोङले भने, ‘आयोजनालाई माथिल्लो स्तरीकरणको चाहना राख्नु सामान्य हो। क्लबले आयोजना मात्र गरेर शीर्ष डिभिजनको क्लबसँग प्रतिस्पर्धामा कमजोर टिम दिएको खण्डमा स्तर झार्ने काम गर्छ। १-२ जना स्तरीय खेलाडी टिममा समेटेर खेलाउँदा नयाँले केही सिक्ने मौका पाउँछन् तर पछिल्लो समय सेट टिम नै ल्याउने जुन परिपाटी छ। त्यसले घरेलु फुटबलको विकास चाहि गर्दैन।’

झापामै खेलाडीको खडेरी परेको हो ?

इलाम मात्रै होइन‚ आजकाल धेरै जसो फुटबल आयोजकहरूसँगै आफ्नै टिम छैन। विभिन्न ए डिभिजन क्लबसँग सापटी मागेर गर्जो टार्छन्। घरेलु टोलीको हिसाबले आफ्नो जिल्लाका खेलाडीलाई एकत्रित गरेर समेत टिम बनाउन चुकिरहेका छन् आयोजक। त्यसको ज्वलन्त उदाहरण भद्रपुर झापा गोल्डकप र विराट गोल्डकप समेत हो। 

झापा फुटबलको हब हो। नेपालका सिनियर र जुनियर फुटबल टिममा झापाका खेलाडीहरू अझै पनि सक्रिय छन्। विगत ५ वर्षमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीहरूलाई छुट्याएर एकातिर राख्ने हो भने नेपाली सिनियर पुरुष टोलीभन्दा बलियो टोली बन्छ।

गत फागुन ७ गते भद्रपुर झापा गोल्डकपको उद्‍घाटन खेलमा पाहुना टोली जयगाउँ एफसीलाई पराजित गरेको आयोजकले ए डिभिजन क्लब खुमलटारको सेट टिम नै उतारेको थियो। खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा पत्रकारहरूको प्रश्नमा प्रशिक्षक हरि खड्का खुमलटार उपमा नदिन आग्रह गरिरहेका थिए।

उनले भनेका थिए, ‘खुमलटारले लिग खेल्दै छ। भद्रपुर ब्लेजर्सले भद्रपुर–झापा गोल्डकप खेल्दै छ। हाम्रो टोलीमा लोकल खेलाडी पनि छन्। टिम बनाउँदा खुमलटार नभनिदिन आग्रह गर्छु।’

खुमलटारमा आबद्ध झापाका ३ जना खेलाडी सुरुवाती ११ मा थिए। खड्काको प्रशिक्षणमा रहेको टिमले झापाका खेलाडीहरूलाई समेत एकत्रित गर्न सकेन।

झापालाई आधार बनाएको झापा एफसी यसै वर्ष मात्र सी डिभिजनबाट बढुवा भएर बी डिभिजन पुगेको छ। त्यस टोलीमा झापाका खेलाडीहरू समेटिएका छन्। गत चैत्र ११ गते सम्पन्न १३ औ इटहरी गोल्डकप सगरमाथा युथ क्लब विराटचोकले जित्यो।

उपाधि रक्षा गरेको सगरमाथा क्लबले समेत खुमलटारकै सेटलाई अघि सारेको थियो। टिमका कप्तान थिए महेन्द्र कार्की। थ्रीस्टारबाट व्यावसायिक फुटबल खेल्ने उनी मात्र विराटचोकका बासिन्दा हुन्।

एनएसएल क्लब नै खेलाडी माग्दै

पूर्वको एक मात्र रात्रिकालीन फुटबल सञ्चालन भइरहेको विराट गोल्डकपको मैदान व्यवस्थापन काठमाडौँमा हुने अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको जस्तै छ तर घरेलु टोलीमा मोरङका खेलाडी खोज्नुपर्छ।

फाइनल पुगेको विराटनगर सिटी एफसी ए डिभिजन क्लब मच्छिन्द्र र खुमलटारको मिश्रण हो। टिममा रहेका दिवाकर चौधरी मात्र मोरङका हुन्। औद्योगिक क्रान्तिको साक्षी विराटनगर पहिलो पुस्ताको राष्ट्रिय खेलाडी दिने क्षेत्र समेत हो। त्यही क्षेत्रबाट धेरै खेलाडीहरू अहिले पनि ए डिभिजनका विभिन्न क्लबमा छन्।

विराटनगर सिटी आफैंमा एनएसएल क्लब हो। फ्रेन्चाइज लिग क्लबले गत वर्ष एनएसएलका लागि करिब २० लाख १० हजार खर्च गरी १५ जना खेलाडी अनुबन्ध गरेको थियो। तर योपटक घरेलु टोलीको रूपमा सहभागी विराटनगरको टिममा ४ मार्च २०२२ मा अक्सनमार्फत अनुबन्ध गरेका एकजना पनि खेलाडी थिएनन्।

अझ क्लब उद्‍घाटन खेलमा सहभागी हुँदै गर्दा चर्चित खेलाडी मोरङकै रञ्जित धिमाल (रजिन धिमाल) अष्ट्रेलिया जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थिए।

केही खेलाडी यसअघि नै विदेश पलायन भएका थिए त केही नेपाली राष्ट्रिय टोलीको क्याम्पमा छन्। उद्‍घाटनमा मच्छिन्द्र क्लबको सेटै लिएर मैदान उत्रिएको विराटनगरले सेमिफाइनलमा जावलाखेलविरुद्ध खुमलटारका स्ट्राइकर स्टेफेन विनोङ समीर र मेसुके ओलोमाउलाई समेत पहिलो रोजाइमा उतारेको थियो।

पहिलो खेलमा उपलब्ध नभएका देवेन्द्र तामाङ र विमल घर्ती मगरसमेत मैदानमा देखिए। हरेक वर्ष फरक फरक संयोजक तोकेर फुटबलमा नयाँपन ल्याउने विराट गोल्डकपले प्रयत्न गरे पनि विवादबाट अछुतो छैन।

अघिल्लो संस्करणको उद्‍घाटन खेलमा घरेलु टोली विराटनगर महानगरपालिका र मनाङ मर्स्याङ्दी क्लबबीच तय भएको थियो। अन्तिम समयमा मनाङ नआएपछि आयोजकले सिलिगुडी युनाइटेडलाई सहभागी गराएको थियो।

यो संस्करणमा समेत आइलिगको दोस्रो डिभिजन क्लब दिल्ली एफसी सहभागी हुने भनिए पनि प्रतियोगिताभन्दा ३ दिनअघि मात्र पत्रकार सम्मेलन गरेर दिल्ली नआउने जनाइएको थियो। आयोजकले दिल्लीको स्थानमा भुटानको ड्रु ल्हायुल एफसीलाई प्रतियोगितामा सहभागी गराएको थियो।

दिल्लीले प्रेस विज्ञप्ति जारी गर्दै असुरक्षाको कारणले आउन नसक्ने जनायो। दिल्लीले विराटनगर अशान्त रहेकाले नआउने विज्ञप्तिमा जनाएको थियो।

प्रतियोगिता आयोजनास्थलभन्दा बाहिर आयोजक समितिकै सदस्यहरू घरेलु टोलीको रूपमा बाहिरको टिमलाई सहभागी गराएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका थिए। यो संस्करणमा विराटनगर महानगर प्रमुख नागेश कोइराला संयोजक थिए।

प्रतियोगिताका सहसंयोजक समेत रहेका शुभाशिषको लक्ष्य पनि चेम्जोङको जस्तै एकेडेमी नै हो। उनी विराटनगरलाई स्पोर्टस‌्‌ हबको रूपमा विकास गर्ने योजना सुनाउँछन्।

‘विराट गोल्डकपपछिको लक्ष्य भनेको युथ एकेडेमी सञ्चालन गर्ने हो। विराटनगरलाई स्पोर्टस‌्‌ सिटीको रूपमा विकास गर्नका लागि महानगर समेत सकारात्मक भएकाले हाम्रो लक्ष्य त्यही नै हो’, उनले भने, ‘हामीले एनएसएलमा आबद्ध गरेका खेलाडी पनि ए डिभिजन क्लबकै खेलाडीहरू हुनुहुन्छ। उहाँहरू अहिले क्लबबाट विभिन्न प्रतियोगितामा सहभागी भएकाले बाध्यात्मक स्थितिमा ल्याउनुपरेको हो। हामीले संकलन गरेको रकम पनि विराटनगरको खेलकुदमै लगानी गर्ने हो।’

आजकल प्रतियोगिता केवल नाफा आर्जन र मनोरञ्जनका लागि मात्र आयोजना हुने गरेको छ। पूर्वमा आयोजना हुने एकाध बाहेक गोल्डकपहरू घाटामा गएका छैनन्। इलामकै माइभ्याली गोल्डकपले हरेक वर्ष नाफा २० लाखको हाराहारी देखाउँछ।

प्रतियोगिता आयोजकहरू क्लबलाई दीर्घकालीन बनाउनेतर्फ अघि बढेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.