|

काठमाडौं : राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रनले पराजित गरेसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागेको हो।

जितपछि कोशीले ४ खेलबाट ६ अंक बनायो। कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपिएफले लिग चरणका सबै खेल जित्दै तालिकामा ८ अंक बनाउँदै शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो।

लिग चरणको अन्तिम खेलमा मंगलबार कोशी प्रदेशले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले पूरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर ४३ रनमात्र बनाउने सक्यो।

मधेशका लागि सरस्वती कुमारीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ३ खेलाडी शून्य र २ खेलाडी रनआउट भएका थिए।

कसिलो बलिङ गर्ने क्रममा कोशी प्रदेशका निशा शाह, कप्तान रुबिना क्षेत्री र अलिशा खडियाले २/२ तथा सबनम राईले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको येगफल तयार पारेको थियो। 

कोशीका लागि रुबिना क्षेत्रीले ३९, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृति कटुवालले १० रन जोडे। पहिलो विकेटका लागि रुबिना र काजलले ४० रनको साझेदारी गरेका थिए।

मधेशका लागि अमिरन निशा, सन्तोषी चौधरी र अमिषा पटेलले २/२ विकेट लिए। यसअघि ललितपुर मेयर्स–११ लाई ७ र सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको कोशी विभागीय टोली नेपाल एपिएफ क्लबसँग ७ विकेटले पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको पहिलो खेलमा एपिएफले ललितपुर मेयर्स–११ लाई ३७ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा चौथो खेलमा पनि निरन्तरता दियो। शतप्रतिशत जित निकालेको साविक विजेता एपिएफ ८ अंकसहित फाइनल प्रवेश गर्दा ४ खेलमा नै पराजित ललितपुर अंकविहीन रह्यो।

एपिएफले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै २० ओभर  ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ७३ रनमात्र बनाउन सक्यो। ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक १५ तथा लक्ष्मी चौधरी र सीमा केसीले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

ललितपुरलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि राजमती ऐरी र बिनु बुढा मगरले २/२ तथा इन्दु बर्मा, कप्तान सीता राना मगर र सुष्मा श्रेष्ठले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनायो। एपिएफका लागि राजमती ऐरीले ५२ बलमा ४ चौकाको मद्दतमा अविजित ४१ रनको पारी खेल्दा कप्तान सीता राना मगरले १९ र बिनु बुढा मगरले १२ रन जोडे। यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ललितपुरका लागि सीमा केसी र श्रृष्टि जैसीले २/२ तथा मनिषा उपाध्याय र सोनी पाख्रिनले १/१ विकेट लिए।

फाइनल खेल बिहीबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.