|

काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने भएको छ।

बोर्डको हलमा मंगलबार कार्यक्रम आयोजना गरि उक्त डेस्कका लागि सिस्टम विकास गर्न सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजानेसम्मका योजना प्रस्तुत गरिएको छ।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर विक्रान्त कार्की र आइडिया ब्रिड आइटी सोलुशनका निवेशकिरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमो देखाएका थिए। यी दुई आइटी कम्पनीले उक्त डेस्कको लागि सिस्टम विकासको काम गर्ने छन्।

नेपाली फिल्म उद्योगले सामना गरिरहेको साइबर हमलाबाट कसरी छुटकारा पाउने र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बताए।

‘प्रविधिको विकासले हाम्रो जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र दर्शकसम्म पुग्न सजिलो भएको छ। तर यसले नै साइबर सुरक्षाको नयाँ चुनौती पनि सिर्जना गरेको छ‚’ उनले भने‚ ‘हामीले नेपाली चलचित्रहरू अनलाइन लिक वा पाइरेटेड भएका प्रशस्तै उदाहरणहरू देखेका छौं, जसले यस उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको छ। यसबाहेक, हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेका छन्। यी चुनौतिलाई सम्बोधन गर्न बोर्डले ‘चलचित्र साइबर सेक्युरिटी’ सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्ने निर्णय गरेको छ।’

अध्यक्ष केसीले साइबर सेक्युरिटीु जटिल विषय भएको जानकारी रहेको र यसलाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने भएकोले नेपाली चलचित्र र चलचित्रकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न सरकार, नेपाल प्रहरी, चलचित्र निर्माता, सामाजिक सञ्जालका प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्ने बताए।

उनले चलचित्र विकास बोर्डको पहलले नेपाली राष्ट्रिय चलचित्र उद्योगको हितको रक्षा मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रको समग्र विकासमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै चलचित्र निर्माताहरूको बौद्धिक सम्पत्तिको संरक्षण गर्न बोर्ड सदैव दृढ रहेको बताए।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेलले बोर्डले चालेको कदम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रविधि केन्द्रले आवश्यकताअनुसार सहकार्य गर्ने प्रतिबद्धता जनाए।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले पनि साइबर सेक्युरिटी डेस्कलाई आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको बताए।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हादप्रसाद पुडासैनीले साइबर सेक्युरिटी र बौद्धिक सम्पत्तिको संरक्षण परस्पर सम्बन्धित रहेको बताउँदै सहकार्य गर्ने उल्लेख गरे।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले तुरुन्तै लागू हुने गरि साइबर सेक्युरिटी डेस्कलाई अघि बढाउन जोड दिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले नेपाल प्रहरीले साइबर सेक्युरिटीका लागि डेडिकेटेड ब्यूरो ‘साइबर ब्यूरो’ नै सञ्चालन गरेको जनाउँदै चलचित्र र चलचित्रकर्मीहरुका हरेक समस्या समाधान गर्न नेपाल प्रहरी २४ घण्टा नै तयार रहेको बताए।

उनले बोर्डले सञ्चालन गर्न लागेको डेस्कको लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन र यसको लागतबारे आगामी आवको बजेट विनियोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोर्डले प्रस्ताव पेश गरिसकेको छ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हादप्रसाद पुडासैनी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ नायव उपरीक्षक रुपक खड्का, बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्रसम्बन्धी संघसंस्थाका अध्यक्षहरु तथा अन्य पदाधिकारी, चलचित्रकर्मीलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.