‘माधव ‘मामाको घोडा मेरो हिही’ को अवस्थामा पुगिसके’

|

पाल्पा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको राजनीतिक ‘सिंह’ भएको बताएका छन्। 

एमाले पाल्पाले मंगलबार तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० दलीय सत्तारुढ गठबन्धन स्यालको बथान भएको टिप्पणीसमेत गरे।

पछिल्लो समय एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र यस्तो अवस्थामा एमालेले एक्लै लडिरहेको उनको भनाइ थियो। ‘एक्लै लड्छ‚ सिंह एक्लै हिँड्छ। स्यालहरू बथानमा हिँड्छन्। स्यालहरू एक्लै हिँड्यो भने बाघले खाने डर हुन्छ‚’ ओलीले भने‚ ‘सिंह जंगल नियाल्दै लमकलमक एक्लै हिंडिरहेको हुन्छ। सिंह आफूलाई कसैले शिकार गर्छ भन्ने पत्यारै गर्दैन‚ बरु शिकार भेटिन्छ कि भनेर हिँडेको हुन्छ। १० दलीय गठबन्धन स्यालहरू हुन्‚ डराइडराइ जंगलमा हिँडिरहेका हुन्छन्। सिंहले एक्लै फेला पारे खाइहाल्छ कि भन्ने डर हुन्छ स्याललाई।’

पार्टी सिध्याएको बेला पार्टी विघटन गरेर छिन्नभिन्न भएको अवस्थामा पनि एमाले लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्न सफल भएको उनले दावी गरे। पार्टी कब्जा गर्न नसकेर माधवकुमार नेपाल र प्रचण्डले पार्टी फुटाएको आरोप ओलीले लगाए।

‘ममाथि पटक पटक आक्रमण गर्न खोजेका थिए‚ मेरो बदनाम गर्न खोजे। अन्ततः आफूहरू नै सिद्धिए‚’ उनले भने‚ ‘आफैँ पार्टीबाट चोइटिएर गए।’

अध्यक्ष ओलीले माधव नेपाललाई पिलोको संज्ञा दिए। ‘पिलो निचोरेर फाल्दैमा शरीरको तौल घट्दैन बरु दुखाइ सन्चो हुन्छ‚ शरीर ठीक अवस्थामा रहन्छ‚’ उनले भने‚ ‘अब एमाले झन् बलियो र राम्रो पार्टी बनेको छ।’

दशदलीय गठबन्धनमा रहेका दलले सत्तामा पुगेर लुछाचुँडी गरिरहेको आरोप उनले लगाए। ‘देश र जनताको पक्षमा काम गर्न ध्यानै दिएका छैनन्। देश बनाउन एमालेले जित्नै पर्छ‚’ उनले भने।

मुलुकको भूभाग भारतले मिच्दा सरकार मौन रहेको आरोपसमेत अध्यक्ष ओलीले लगाए। ‘प्रचण्ड र शेरबहादुर देउवाले देखेर पनि नदेखे झैं गरिरहेका छन्। उल्टै केपी ओलीले पाल्पा गएर भूमि मिचिएको बारेमा बोल्यो भनेर गएर भारतलाई सुनाउँछन्। भोलि नै कुम्लो कुटुरो बोकेर भारतमा खबर लैजान्छन्‚’ उनले भने।

एमालेको नेतृत्वमा बनेको सरकारले जनमुखी काम गरेको दावी उनले गरे। सत्तामा टिक्न र दोहन गर्न गठबन्धनका नाममा वामपन्थी भन्नेहरूले दक्षिणपन्थीसँग ‘घाँटी जोडेको’ उनले बताए।

‘मलाई त प्रधानमन्त्री ओलीले बनाइदिए तर मन उतै थियो भनेर प्रचण्ड आफैँले बोले। बकुल्ला-बकुल्लाको बथानमा जानु कुनै नौलो कुरा होइन‚’ ओलीले भने‚ ‘बाहिरको गोटी बनेका हुन् प्रचण्ड। भारतीय इशारामा सरकार परिवर्तन गरेका हुन्। उनले नेपाल र नेपालीको हितमा काम गर्दैनन्।’

रास्वपासहित गएको निर्वाचनमा उदाएका दल धेरै नटिक्ने जिकिर उनको थियो। ‘ती पार्टी र नेता बेलुनमा भरिएको हावाजस्तै हुन्। केही समयमा हावा जान्छ‚ बेलुन फुटेर काम नलाग्ने बन्छ‚’ उनले भने।

राष्ट्रिय पार्टी बन्न नसकेको पार्टीका अध्यक्ष माधवकुमार नेपालले फुइँ झारेर हिँडिरहेको र उनी ‘मामाको घोडा मेरो हिही’ को अवस्थामा पुगिसकेको ओलीको भनाइ थियो।

‘अहिले देश बनाउने कुरा ख्यालख्याल जस्तो भइरहेको छ। देश बनाउन पर्दैन भन्नेजस्तो भइसक्यो। यस्तो राष्ट्र निर्माणका लागि मुर्छित भइरहेका सपना एमालेले जगाएको छ‚’ उनले भने‚ ‘मिसन ग्रासरुट कार्यक्रमले आगामी निर्वाचनमा एमालेले बहुमत पाउनेछ र एकल सरकार बनाएर राष्ट्र, राष्ट्रियता र जनताका जनजीविकाका पक्षमा काम गर्छ।’ 

भूमिगत कालमा पाल्पामा सेल्टर लिएर राजनीति गरेका एमाले अध्यक्ष ओलीलाई पाल्पाली ढाकाको कोट, ढाका टोपी र पाल्पाली करुवाले सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.