|

धनकुटा : धनकुटामा भएका दुई आगलागीबाट करिब १ करोड रूपैयाँ बराबरको क्षति भएको छ।

धनकुटा नगरपालिका वडा नं. ७ हुलाकटोलमा रहेको जनविश्वास अफसेट प्रेसमा विद्युत सर्ट भएर आगलागी हुँदा ५५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-२ सान्नेटारमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।

मंगलबार बिहान साढे ६ बजे आगलागी भएको जनविश्वास प्रेसमा ग्राहक अर्डरका सामाग्री र नयाँ कागजलगायत सबै कुरा जलेर नष्ट हुँदा अन्दाजी ५५ लाखभन्दा बढीको क्षति भएको हो।

प्रेस संचालक होम नेम्वाङका अनुसार आफूलाई छरछिमेकीले फोन गरेपछि मात्र प्रेसमा आगलागी भएको थाहा पाएको बताए। उनले आगलागीबाट अफसेट प्रेस भएको कोठाको सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताए। आगो बिहान उज्यालो भएपछि लागेको कारण स्थानीयले देखेकाले नियन्त्रण गर्न सहज भएको थियो।

आगलागी नियन्त्रणका लागि धनकुटा नगरपालिकका २ वटा दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लागेर नियन्त्रणमा लिएका थिए। आगलागीको कारण प्रेस अर्थात छापाखानाको कुनै पनि सामान प्रयोगमा नआउने गरी जलेको संचालक नेम्वाङले बताए। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष संजय सन्तोषी राई र होम नेम्वाङ्ग जनविश्वास अफसेट प्रेसका संचालक हुन्।

प्रेसमा आगलागी भएपछि धनकुटाबाट प्रकाशन हुने पत्रिका प्रकाशनको समस्या हुने भएको छ। धनकुटामा प्रकाशित हुने सबै पत्रिका जनविश्वास प्रेसमा छापिँदै आएको नयाँ नेपाल विचार साप्ताहिकका प्रकाशक तिलकप्रसाद राईले बताए।

धनकुटाको महालक्ष्मी नगरपालिका-२ सान्नेटारमा आगलागी हुँदा ५० लाख रूपैयाँ बराबरको क्षति भएको छ। स्थानीय धर्मदेवी सालबोटे सामुदायिक वनबाट आगलागी भएर गाउँमा पस्दा ४ वटा घर जलेको प्रहरीले जनाएको छ।

आगलागीबाट स्थानीय राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको ढुङ्गा‚ माटो‚ काठ र खरको छानो भएका घर जल्दा ५० लाख बराबरको क्षति भएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

स्थानीय धर्मदेवी सालबोटे सामुदायिक वनमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगो पूर्ण नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.