|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही हुने चेतावनी दिएका छन्।

मुख्यमन्त्री यादवले जनकपुरधाम प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन्। अस्पतालको ल्याबमा कार्यालय सहयोगीले जाँच गरेको खबर आएदेखि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता एवम् तदारुकता देखाएका हुन्।

उनले मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरे। अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई विरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए।

यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोदकुमार यादवलाई कारबाही गरिसकेका छन्। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएको छ।

रेफर हस्पिटलको ट्याग हटाएर प्रादेशिक अस्पताल जनकपुरधाममा प्रभावकारी सेवा सुलभ तरिकाले उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री यादवले भने‚ ‘अस्पतालमा लापरबाहीको ठाउँ छैन।’

चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जाने भन्दै उनले प्रश्न गरे। ‘काम गर्न नचाहने डाक्टरसाब अन्यत्र जान सक्नुहुन्छ’, उनले भने‚ ‘सरकारी सेवा सुविधा लिने डाक्टर साबहरूले काम पनि सरकारकै गर्नुपर्छ।’

प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउन डाक्टरसहित अन्य कर्मचारी पनि प्रतिबद्ध भएर काम गर्नुपर्ने मुख्यमन्त्री यादवको भनाइ छ। प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. विनोद यादवले प्रादेशिक अस्पताल जनकपुरधामको व्यवस्थापन पक्ष हेर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.