|

दाङ : राजपुर गाउँपालिका-७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेकी भए पनि उपचार खर्च नहुँदा घरमै थला परेकी छन्। करिब एक महिनाअघि घरमा आगो ताप्ने क्रममा शरीरमा आगोले पोलेको उनका आफन्त भरत घर्तीले बताए।

घर्तीका अनुसार आगोबोट दुवै खुट्टा र हात पनि जलेको छ। घरमा कोही नहुँदा आगो ताप्ने क्रममा उनी जलेको उनको भनाइ छ। उनले भने, ‘उहाँलाई ज्वरो आएको रहेछ। त्यसैले आगो बालेर ताप्ने क्रममा जल्नु भएछ। आगो तापिरहेको बेलामा बेहोस हुनु भएछ। घरमा अरु कोही रहेनछन्। मैले पनि केही दिन अगाडिमात्र थाहा पाएँ।’

आफूले थाहा पाएपछि मंगलबार मात्र उपचारका लागि तुलसीपरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा ल्याएको भए पनि यहाँ उपचार सम्भव नभएको बताए।

उनले भने, ‘अस्पतालमा उपचार गर्न ल्याएका थियौँ तर यहाँ उपचार सम्भव नभएपछि बाहिर लैजानु भन्यो अस्पतालले। अब बाहिर उपचार गर्न लैजान पैसा पनि छैन। मेडिकलबाट दुखाई कम हुने औषधि ल्याएर मेरो घरमा ल्याएको छु।’

उनका अनुसार विमलाको ८ महिनाकी छोरी छन्। उनका श्रीमान भारतमा गएको बेला सवारी दुर्घटनामा परि घाइते भएपछि मानसिक अवस्था ठिक नभएको पनि उनले बताए।

उनले भने, ‘भौवा नाका एक त विकट ठाउँ छ। त्यसमा पनि घरमा अरु कोही नहुँदा एक महिनासम्म उपचारविना घरमै बस्न बाध्य हुनु भयो। गाउँका युवा पनि कमाउन भारततिर गएका छन्। यातायात नहुँदा साइकलबाट धौँका ल्यायौं। हामीजस्ता गरिब दुःखीले समयमै उपचार नपाएर मर्नुपर्ने अवस्था छ। देशका ठूला नेताहरुलाई राज्यले लाखौँ उपचारको लागि खर्च गर्छ तर हामीजस्ता गरिब दुःखी उपचार नपाएर यसरी बाँच्न बाध्य छौँ।’

उनले विमलाको उपचारका लागि सहयोगको याचनासमेत गरेका छन्। उनले बच्चा पनि सानो हुँदा र उपचार गर्न बाहिर लैजानुपर्ने भएकाले पनि हेर्नका लागि अरु पनि जानुपर्ने हुँदा खर्च नभएकाले समस्या भएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.