|

काठमाडौं : सरकारले आगामी वैशाखको पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए। उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ। 

महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाउने महाशाखाले जनाएको छ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो। 

सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.