|

बैतडी : चैतेदशैँको अवसरमा बैतडीका शक्तिपीठमा एकहजार बढी पशुको बलि चढाइएको छ। नवरात्र शुरु भएदेखिनै यहाँका शक्तिपीठमा पूजाआजा हुने र चैतेदशैंमा बलि चढाउने परम्परा छ।  

दशरथचन्द नगरपालिका २ देहीमाडौंस्थित प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ७५० पशुको बलि चढाइएको निंगलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए। २५० राँगा र ५०० बोकाको बलि दिइएको हो।  मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको थियो।

निंगलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको छ। सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन छ।

यस्तै मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवती मन्दिरमा २७१ पशु बलिसहित जात्रा सम्पन्न भएको छ।  यहाँ नवरात्र सुरु भएदेखि  अष्टमीसम्म दैनिक पूजा पाठ र बलि सहित लागेको मेला हुँदै आएको थियो। नवरात्राको अवधिभर १२० रागा र १५१ बोकाको बलि दिइएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ।
यसका साथै दशरथचन्द नगरपालिका ८ मा रहेको त्रिपुरासुन्दरी मन्दिरमा पनि पशुबलिसहित जात्रा सम्पन्न भएको छ। 

यहाँका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.