|

काठमाडौं : नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने चितवन-२ को उपनिर्वाचन आफूले जित्ने दाबी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे।

उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए।

उनले सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको बताए। नेता श्रेष्ठले वैशाख १० गतेको उपनिर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गरे।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो। त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्। कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्नेकुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ।’ उनले भने, ‘मंसिरको उल्टो परिणाम अब आउनेछ । सत्ता साझेदार दलहरूको साझा उम्मेदवार म हुन्छु भन्नेकुरामा विश्वस्त छु। नाकको डाँडी भाँच्ने भन्नेलाई जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन्।’

नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.