काठमाडौंमा पनि बिस्तारै बढ्न थाले संक्रमित

|

काठमाडौँ : नेपालको कोभिड संक्रमणदर यो हप्ताबाट फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार फागुन २६ गतेसम्म ५ जना मात्रै रहेको कोभिडका सक्रिय संक्रमितको संख्या बढेर बिहीवार १२३ पुगेको छ।

गत भदौ मसान्तमा कोभिड १९ संक्रमितको सङ्ख्या ११० थियो। त्यसयता नेपालमा कोभिड संक्रमण निकै कम हुँदा सक्रिय संक्रमित १०० सयभन्दा बढी थिएनन्। यो समयमा दैनिक संक्रमितको संख्या शून्यमा झरेको थियो। पछिल्लो एक सातामा भने यो बढ्दै गएको छ।

मन्त्रालयका अनुसार चैत ९ गते १७ जनामा संक्रमण देखिएकोमा चैत १२ गते आइतबार १६ जनामा देखियो। १३ गते २९ जना, चैत १४ गते २४ जना र चैत १५ गते ३४ जना संक्रमित भेटिएका छन् भने चैत १६ गते (आज) ४२ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२३ पुगेको छ। 

 पछिल्लो एक हप्तामा दैनिक हजार जनासम्मको नमुना परीक्षण भइरहेका वेला यी संक्रमित भेटिएका हुन्।

भारतमा बढ्दा नेपालमा जोखिम उच्च

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार यो हप्ता नेपालमा कोभिड संक्रमण अनपेक्षित रूपमा बढिरहेको छ। संक्रमण बढ्नुको मुख्य कारण भारतमा पुनः संक्रमण बढ्दै जाँदा त्यसको असर नेपालमा देखिएको र पछिल्ला दिनमा मानिसले जनस्वास्थ्यका मापदण्ड पालना गर्न चटक्कै छाडेकाले संक्रमण बढेको डा. अधिकारीले बताए।

उनले पछिल्लो दिन भारतमा कोभिड संक्रमण बढ्दै गएको र यही समयमा संक्रमण बढिरहेको ठाउँबाट नेपाल भित्रिने मानिसको संख्या बढिरहेको हुँदा सीमा नाकामा परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भइरहेको बताए।​

खासगरी यो हप्ता नेपाल–भारत स्थलसीमा नाका श्रीनगर, कृष्णनगर, बेलहिया‚ गड्डाचौकी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेमा संक्रमण पुष्टि भएको डा. अधिकारीले बताए।

डा. अधिकारीले भने‚ ‘सीमा नाकाबाट नेपाल भित्रनेमा संक्रमण बढ्न थालेपछि हाल भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रनेलाई सीमा नाकामा अनिवार्य परीक्षण गरिएको छ। भर्खरै भारतबाट फर्किएका र कोभिडको जस्तै लक्षण देखिए अनिवार्य कोभिड परीक्षणसमेत गर्नुपर्ने अवस्था छ।‘

विशेषगरी अहिले सीमानाका क्षेत्रमा परीक्षणको दर बढाइएको समेत उनले बताए।

जिन सिक्वेन्सिङका लागि नमुना सङ्कलन

नेपालमा पुनः कोभिड संक्रमण बढ्दै गएपछि हाल संक्रमण धेरै देखिएका सीमानाका क्षेत्रबाट जिन सिक्वेन्सिङका लागि नमुना सङ्कलन भइरहेको छ। संकलित नमुनाको जिन सिक्वेन्सिङ परीक्षणको नतिजाले नयाँ भेरिएन्ट आएको छ वा छैन भन्ने पुष्टि हुने डा. अधिकारीले बताए।

‘संक्रमण बढ्दै जाँदा नयाँ भेरियन्ट आयो कि भनेर सजग हुनुपर्छ। यो हप्ता अलि संक्रमण बढेको छ। त्यसैले जिन सिक्वेन्सिङका लागि नमुना संकलन भइरहेको छ। यसको रिपोर्ट आएपछि नयाँ भेरियन्ट छ कि छैन भनेर पुष्टि हुन्छ’‚ डा. अधिकारीले भने।

नेपालमा ओमिक्रोनभन्दा सङ्क्रामक मानिएको ‘एक्सबीबी.१.१६’ को संक्रमण हालसम्म पुष्टि भएको छैन तर बीए ५.२, बीएम.१.१.३ पुष्टि भएको छ।

काठमाडौंमा पनि बिस्तारै बढ्न थाले संक्रमित

अघिल्लो हप्तासम्म शून्य संक्रमित पुष्टि भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यो हप्ता कोभिड संक्रमण पुष्टि हुने संख्या बढ्न थालेको छ।

टेकु अस्पतालका प्रयोगशाला प्रमुख परमानन्द भण्डारीका अनुसार गत हप्तासम्म कोभिड परीक्षण गर्न आउनेमा संक्रमण पुष्टि हुने संख्या शून्य हुन्थ्यो तर यो हप्ता लागेपछि दैनिक ४ जनासम्ममा संक्रमण पुष्टि भएको छ।

प्रयोगशाला प्रमुख भण्डारीले भने‚ ‘अघिल्लो हप्तासम्म परीक्षण गरिएका शंकास्पद नमुनामा संक्रमण पुष्टि हुने दर शून्य थियो तर यो हप्ता दैनिक ४ जनासम्ममा संक्रमण देखिएको छ। यसले संक्रमण पुनः बढेको हो कि भन्ने संकेत गर्छ।’

अहिले विशेषगरी विदेश जाने तथा अन्य कामका लागि कोभिड परीक्षण अनिवार्य गरिएकाहरू परीक्षण गर्न आउनेमा संक्रमण पुष्टि भएको भण्डारीले बताए।

‘कोभिडको लक्षण देखिएर भन्दा पनि विदेश जाने तथा अन्य प्रयोजनका लागि कोभिड परीक्षण अनिवार्य गरिएकाहरू परीक्षण गर्न आउनुहुन्छ। यसरी आउनेमा कोभिड देखिएको छ। यसले समुदायमा संक्रमण अझै भन्ने पुष्टि हुन्छ’‚ भण्डारीले भने।

हेलचेक्राइँ नगर्न आग्रह

यो समय मौसमी फ्लूको समय पनि भएको र फ्लूको र कोभिड संक्रमणको लक्षण धेरै मिल्दोजुल्दो हुने हुँदा धेरैले कोभिडको लक्षणलाई पनि फ्लू भनेर बेवास्ता गर्ने हुँदा त्यस्तो नगर्न मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।

कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, गन्ध थाहा नपाउने, घाँटी दुख्ने वा खसखस हुने, थकान महसुस हुने, टाउको दुख्ने, नाकबाट सिँगान बग्ने, हाच्छिउँ जस्ता लक्षण देखिने हुँदा यस्तो लक्षण देखिदा हेलच्रेकाइँ नगर्न उनले आग्रह गरे।

‘यो फ्लूको समय पनि हो अझै फ्लू र कोभिडको प्रायः लक्षण साझा छन्। यस्तो अवस्थामा धेरैले हेलचेक्राइँ गरेको पाइन्छ। त्यसैले कोभिडको लक्षण देखिएको छ भने परीक्षण गर्नुपर्छ। अर्कोतर्फ अहिले धेरैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न चटक्कै छाडेको अवस्था छ। संक्रमण बढ्दै गएको समयमा मास्क अनिवार्य रूपमा लगाउने र सामाजिक दूरीको पालना अनिवार्य गर्नुपर्छ’‚ उनले भने।

मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।

मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ। पछिल्लो समय नेपालमा संक्रमणदर घटेसँगै मानिसले मास्क लगाउन छाडेका छन्। जनस्वास्थ्यका लागि सामाजिक सुरक्षाका मापदण्ड पनि निकै खुकुलो भएका छन्।

नेपालमा लक्षित समूहमा २ करोड ३३ लाख २७ हजार ६१९ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ। तीमध्ये ९९.५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा ९५.७ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म बुस्टर डोज खोप ८४ लाख ७ हजार २७४ जनाले लगाएका छन्।

नेपालमा कोभिडका कारण १२ हजार २० जनाले ज्यान गुमाएका छन्। पछिल्लो झन्डै तीन महिनायता कोभिड संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.