|

काठमाडौँ : राष्ट्रियसभाका सांसदहरूले नेपाल राष्ट्रिय पुस्तकालय अव्यवस्थित बनेको र पुस्तक नष्ट हुँदै गएको भन्दै सरकारले संरक्षण गर्नुपर्ने माग गरेका छन्।

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधवारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन्। समितिद्वारा केही दिनअघि गरिएको पुस्तकालयको अवलोकन भ्रमणमा देखिएका विषयमाथि गरेको छलफलमा अधिकांश सांसदले पुस्तकालयको सुधार गरी व्यवस्थित बनाउन माग गरे।

समितिले यसै साता पुस्तकालय अवलोकन गरेको थियो। पुस्तकालयको अवस्था नाजुक रहेको पाइएको सांसदहरूले बैठकमा बताए। उनीहरूले सरकारी स्वामित्वको राष्ट्रिय पुस्तकालयमा राखिएका पुराना पठन सामग्री पुस्तक तथा पत्रपत्रिकामा कीरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेको देखिएको बताए।

सांसदहरूले पुस्तक तथा पत्रपत्रिकामा लागेको पत्रपत्रिकामा कीरा, धमिरा, ढुसी, ओस र धुलोको कारणको कारण रोग लाग्नसक्ने अवस्था रहेकाले सरकारले त्यसको तत्काल व्यवस्थापनका लागि काम गर्न समितिले ध्यानाकर्षण गराउनुपर्ने बताए।

बैठकमा समिति सभापति मायाप्रसाद शर्माले पुस्तकालयका पठन सामग्री बजेट अभावका कारण अव्यवस्थित भएको भन्दै व्यवस्थापनका लागि समितिबाट बजेटको सहजीकरण गरिदिन माग आएको बताए। उनले पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको बताए। उनले सरकारको स्वामित्वमा रहेकाले पुस्तकालयलाई व्यवस्थित गरी बचाउनुपर्नेमा जोड दिए।

सभापति शर्माले राज्यको सम्पत्ति पुस्तकालयमा रहेकाले यसको संरक्षणका लागि शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गन माग गरे। उनले भूकम्पका कारण पुस्तकालयका पुस्तक सामग्री अव्यवस्थित देखिएको भन्दै पुस्तकालयको संरक्षण गर्न सबै जिम्मेवार पक्षले पहल गर्न जरुरी रहेको बताए।

त्यस्तै छलफलमा बोल्दै सांसद तुलसाकुमारी दाहालले पुस्तकालयमा भएको तत्काल नष्ट हुने पुस्तक, पत्रिका संरक्षण गर्न आवश्यक रहेको बताइन्। उनले स्थायी भवन निर्माणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग सहकार्य एवं समन्वय गर्नुपर्ने बताइन्। उनले सरकारको सम्पत्ति पुस्तकालय भए पनि निजी पुस्तकालय जस्तो पनि नभएको टिप्पणी गरिन्।

त्यस्तै सांसद सुमित्रा बीसीले पुस्तकालयको भवन अस्थायी भएको भन्दै आगामी आवमै भवनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्ने बताइन्।

सांसद नरबहादुर बिष्टले सरकारले चाहे ८५ लाख रुपैयाँ तत्काल दिनसक्ने बताए। उनले पुस्तकालय भनिएको छ पढ्न जाँदा बिरामी हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे। छलफलमा सांसद युवराज शर्माले पुस्तकालयमा बस्ने कर्मचारीले समेत पुस्तक छुनसक्ने अवस्था नभएको बताए।

समितिको छलफलमा पुस्तकालय नेपालको इतिहास र राज्यको सम्पत्ति भएकाले संरक्षण गर्नुपर्ने, तत्काल डिजिटल गर्नुपर्ने कुरा भएको थियो। भूकम्पले हरिहरभवनस्थित पुस्तकालय भवन भत्किएपछि अहिले सानो ठिमीस्थित आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.