दर्शनका लागि दैनिक हजारौंको भीड

|

म्याग्दी : भगवान रामको बाल वयको मूर्ति बनाउन गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या लगिएका दुई वटा देवशिला (शालिग्राम) अहिले त्यहाँ आकर्षणको केन्द्र बनेका छन्।

अहिले ती शिला अयोध्यास्थित राम जन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर पर राखिएको छ। देवशिलाको दर्शन, पूजन र हेर्न दैनिक हजारौं भक्तजनहरूको भीड लाग्ने गरेको छ। शिलाको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ।

देवशिलाबाट मूर्ति बनाउन विवाद

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारका उक्त शिला भारतवर्षको प्राचीन सभ्यता र धार्मिक क्षेत्रमध्येको महत्वपूर्ण स्थल अयोध्यामा ‘साढे ६ करोड वर्ष पुरानो श्री हरिशिला’ भनेर पुजिए पनि जुन कामका लागि अयोध्या लगिएको हो सो विषयमा भने विवाद उत्पन्न भएको छ।

श्रीराम जन्मभूमि कार्यशाला चौराहामा नेपालको कालीगण्डकीबाट लगिएको देवशिलासहित भारतको उडिसा, राजस्थान, जयपुर, दक्षिण भारतलगायतका क्षेत्रबाट लगिएका शिला पनि राखिएका छन्।

ती शिलाहरुमध्ये कुन शिलाबाट भगवान रामको बाल स्वरुपको मूर्ति बनाइने भन्ने विषयमा अझैसम्म पनि अन्योल रहेको श्रीराम जन्मभूमि ट्रष्टका अधिकारीहरुले आफूलाई जानकारी दिएको अयोध्यास्थित बढी छाउनीका नेपाली साधु दास केदारनाथले अयोध्याबाट थाहाखबरलाई जानकारी दिए।

दास केदारनाथका अनुसार कालीगण्डकीबाट ल्याइएका २ देवशिला कुन कामका लागि प्रयोग गर्ने भन्ने अहिले नै स्पष्ट भैसकेको छैन। श्री राम जन्मभूमि तीर्थ क्षेत्रका नीति निर्धारकहरूले भारत सरकारको निर्णय आएपछि मात्र भन्न सकिने बताएका छन्।

‘भगवान राम ललाको मूर्ति निर्माण हेतु धेरै ठाउँबाट शिलाहरु अयोध्या ल्याइएका छन्,ती शिलाहरुमध्ये कुन शिलालाई कुदेर भगवानको मूर्ति प्रतिष्ठापित गरिन्छ त्यो विषय अहिले अनिर्णित नै छ’ दास केदारनाथले भने ‘सो विषयमा यहाँका अधिकारीहरुले अहिल्यै केही बताउन चाहँदैनन्। कुन शिलाबाट भगवान रामको बालवयको मूर्ति बनाउने भन्नेकुरा भारत सरकारले निर्णय गरिसकेपछि मात्र भन्न सकिन्छ ।’

श्री राम जन्मभूमि क्षेत्रका अधिकारीहरुले नेपाली जनताको भावनाको आदर हुने गरी भारत सरकारले निर्णय लिने बताइएको छ।

देवशिला (शालिग्राम) फुटाउन नहुने

भारतका केही साधु सन्त र विद्वानहरूले नेपालबाट ल्याइएको शिला करोडौं वर्ष पुरानो श्रीहरि शिला भएको र उक्त शिलालाई भगवानको अंश मानेर पूजिने हुँदा छिना वा अन्य हतियार चलाएर फोड्न नहुने, ती देव शिला फोडेमा ठूलो अनिष्ट हुने भन्दै तिनलाई यथावत् रुपमा नै राखेर भगवान श्रीरामका समेत गुरु मानिने भगवान हरि (विष्णु) को पूजन गरिनुपर्ने अडान राखेपछि ती शिलाबाट भगवान रामको बाल वयको मूर्ति बनाउने वा नबनाउने भन्ने विषय अन्योलमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अयोध्याको सबैभन्दा प्राचीन पीठ तपस्वी छाउनीका पीठाधीश्वर जगद्गुरु परमहंस आचार्यले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई एक पत्र लेखेर अहिल्यारूपी पत्थरमा छिना हथौडा नचलाउन अपिल गरेका छन्। यी शिलामा छिना हथौडा चलाएर फोड्ने हो भने अनिष्ट आउन सक्ने चेतावनी उनले दिएका छन्।

उनले कालीगण्डकीबाट लगिएका शालिग्राम शिलामा भगवान श्रीहरि विष्णुको साथमा माता लक्ष्मीको पनि वास हुने हुँदा ती शिलाको प्राण प्रतिष्ठा गर्न नपर्ने र प्राण प्रतिष्ठा नै नगरी भगवान रामको मूर्ति मन्दिरमा राख्न नमिल्ने बताएका छन्।

यही विषयलाई लिएर भारत सरकारले अहिले अन्य विद्धान र साधुसन्तहरूसँग छलफल गरिरहेको बुझिएको छ।

भारतीय सञ्चारमाध्यमले पनि यस विषयलाई प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरेका छन्। भारतीय सञ्चारमाध्यम टिभी इण्डिया, अमर उजाला,आजतक लगायतले शालिग्राम शिला स्वयं भगवान नारायण भएको हुँदा भगवानमाथि कुनै पनि हतियार प्रयोग गर्न नहुने भन्दै समाचार प्रकाशन/प्रशारण गरेका छन्।

बाबरी मस्जिद भएको ठाउँ हिन्दु र मुस्लिम समुदायले दाबी गरेपछि उक्त विवाद भारतका विभिन्न अदालत हुँदै सर्वोच्च अदालत पुगेको थियो। लगातार ४० दिनको सुनुवाइपछि भारतको सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा उक्त स्थानमा राम मन्दिर बनाउन पाउने फैसला सुनाएको थियो।

मस्जिद बनाउन अयोध्याकै अर्को ठाउँमा जग्गा उपलब्ध गराउन सर्वोच्च अदालतले भारत सरकारलाई आदेश दिएको थियो। अदालतले उक्त आदेश दिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त स्थानमा राम मन्दिर बनाउने योजना अघि बढाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.