|
फाइल तस्वीर

काठमाडौं : अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन्।

बिहीबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन्।

उनले जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका छन्।

उनले आम नैराश्य चिरेर 'यो देश बन्छ' भन्ने आशा जगाउन आफ्नो प्रयत्न रहने पनि उल्लेख गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ बाट आगामी वैशाख १० गते हुने उपनिर्वाचन लड्ने चर्चा छ।

उनको भनाई

नेपाली कांग्रेसबाट अलग भएको घोषणा

वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर 'यो देश बन्छ' भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.