शिक्षाविद भन्छन्- एसइईमा यस्तो नगरियोस्

|

काठमाडौं : ​यतिबेला स्थानीय तहअन्तर्गत पालिकास्तरीय परीक्षाहरू सञ्चालन भइरहेका छन्। कक्षा ८ को परीक्षालाई बढी विशेष महत्व दिइन्छ।

पालिका स्तरबाट दलबलसहित परीक्षामा अनुगमनका लागि जाने गरेका छन्। पछिल्लो समय परीक्षाको निरीक्षण गर्ने भन्दै जम्बो टोली नै परीक्षा हलमा जाने गरेका छन्।

यही चैत ६ गते मा धनुषाको कुम्हरौडामा रहेको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा १० जनाभन्दा बढीको टोलीले अनुगमन गरेका थिए। तर यसरी अनुगमन गर्दा परीक्षा दिइरहेका विद्यार्थीहरूमा के असर पुगिरहेको छ यसमा कसैले हेक्का राखेका छैनन्।

माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि (शुक्रबार)बाट सञ्चालन हुँदै छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। यसका लागि टाढा परीक्षा केन्द्र परेको ठाउँका विद्यार्थीहरू परीक्षा केन्द्रमा गइसकेका छन्। 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसइई परीक्षाको लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छन्।

परीक्षा सञ्चालनका लागि देशभर करिब ७८ हजार जनशक्ति खटिने छन्। परीक्षामा केन्द्र अध्यक्ष, सहायक केन्द्र, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरि करिब ७८ हजार जनशक्ति खटिँदै भएका हुन्।

तर दलबलसहितको निरीक्षणले परीक्षार्थीहरूमा नकारात्मक असर पुगिरहेको भन्दै यसो नगर्न शिक्षाविद्हरूले आग्रह गरेका छन्। भोलि हुने एसइई परीक्षामा यस्ता गलत क्रियाकलाप नगर्न शिक्षाविद् डा.मीनबहादुर शाहीले माग गरे। 

उनका अनुसार भोलि सुरू हुने परीक्षा केन्द्रबाटै सञ्चालन हुने भएकाले विद्यार्थीहरूमा एक खालको त्रास उत्पन्न हुन्छ।

उनी भन्छन्, ‘कस्तो होला त्यहाँका सुपरीवेक्षक? परीक्षा सेन्टरमा के होला? यस्ता प्रशासनिक कुराहरूले डराइरहेका हुन्छन्। अर्को कस्ता प्रश्न आउलान्? लेख्न सकिन्छ सकिँदैन? जानेको आउँछ आउँदैन यस्तै चिन्ताले डराइरहेका हुन्छन्। झन् त्यसमाथि  दलबलसहित मान्छे जाँदा उनीहरूमा त्रास हुन्छ, जानेको पनि लेख्न सक्दैनन्।’

सरकारले नै यस्तो त्रासको वातावरण सिर्जना गरिरहेको उनले बताए। ‘सरकारले यो परीक्षालाई त्रासको रूपमा सिर्जना गर्दै आएको छ, यस्तो गर्नुहुँदैन। सबै विद्यार्थी सक्षम छन्, सामना गर्न सक्छन्। यो केवल उनीहरूको एउटा क्षमताको मापन गरेको कुरा मात्रै हो, कसैलाई अयोग्य/योग्य बनाउने कुरा होइन भन्ने सरकारले वातावरण तय गर्नुपर्छ,’ उनले भने।

भोलि सुरु हुने एसइई परीक्षामा विद्यार्थीहरूलाई स्वतन्त्र, आनन्दले मैत्रीपूर्ण वातावरणमा  लेख्ने वातावरण सिर्जना गर्नुपर्ने उनको माग छ। ‘जुन ठाउँमा केन्द्र छ परीक्षा सञ्चालन भइरहेको छ, त्यहाँ प्रधानाध्यापक, कर्मचारी‚ शिक्षक, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दललगायत जान्छन्। अझ सुरक्षा गार्डकै टोलीमा जान्छन्, यस्तो गर्न हुँदैन,’ उनले भने।

उनले २०७९ सालको वैशाखदेखि अहिले फागुनको महिनासम्म विद्यालयमा नगएका स्थानीय तहका जनप्रतिनिधि कर्मचारी, शिक्षा शाखा प्रमुख कसरी परीक्षा भइरहेको छ भन्दै जाने गरेको पाएको बताए। 

‘यसको दलबलसहितको टोली जाँदै फोटो खिच्दै सामाजिक सञ्जालमा हाल्ने गर्छन्, यो रमाइलो पक्ष हो। ठीक छ तर यो संवेदनशील पक्ष हो भनेर हेक्का राख्नुपर्छ नि,’ उनले भने।

उनका अनुसार यस्ता क्रियाकलापले जुन हिसाबले परीक्षामा लेख्छु भनेका विद्यार्थीहरू गएका हुन्छन्, उनीहरू जानेका कुराहरू पनि लेख्न सक्दैनन् बिर्सिन्छन्।

‘जानेका कुराहरू पनि बिर्सिन्छन्, अनि यो परिस्थितिसँग तुलना गर्न सक्दैनन्, फेल भएँ भन्छन्। शिक्षा प्रणालीले पनि त्यही भन्छ, विद्यार्थीहरूमा ५० प्रतिशत पनि उपलब्धि छैन भनेर अन्ततः बच्चाहरूकै बदनाम गरिन्छ,’ उनले भने।

‘परीक्षामा ढुक्क भएर लेख्नु’

शिक्षाविद् शाही परीक्षामा त्रसित नभइ ढुक्क भएर लेख्न विद्यार्थीहरूलाई सुझाउँछन्।  ‘विद्यार्थीहरूले आनन्दसँग मैले पढेकै कुराहरू आउँछ, आएन भने पनि जे जानेको छु त्यो लेख्छु भन्ने साहस गर्नुपर्छ। किताबकै ठ्याक्कै उत्तर खोजिनु र लेख्न सकेन भने खोज्न हुँदैन, त्यो कमजोरी हुन्छ। त्यसैले विद्यार्थीले यसबाट अनि व्यवहारबाट प्राप्त ज्ञान जोडेर लेख्ने क्षमता बनाउनुपर्छ,’ उनले भने।

उनका अनुसार अब धेरै समय छैन। त्यसैले गम्भीर हुनुपर्ने उनले बताए।

‘हरेक विद्यार्थीहरू १५/१६ वर्षको उमेरमा खाने‚ बस्ने, काम गर्ने, पढ्ने, व्यवहार गर्ने, जे जे यी कुराहरू गर्दै आउनुभएको छ, त्यो जीवन बिताउने शिक्षा र सीप नै क्रियात्मक छ। त्यसैले त्यो परीक्षाको पानामा जति प्रश्न छन्, यो ज्ञानसँग जोड्ने र प्रस्तुत गर्ने प्रयास गर्नुस्, त्यो राम्रो उत्तर हुनेछ,’ उनले भने। 

जोसुुकै निरीक्षक आए पनि नडराउन उनले आग्रह गरे। ‘तपाईंहरूलाई कक्षा कोठा, फर्निचर, शौचालय, सुपरीवेक्षक, राजनीतिक पूर्वाग्रही हुनसक्छन्त तर यसले कसैले केही गर्न सक्दैन। निर्धक्क भएर परीक्षा दिन, ठूलो मान्छे हो, कापी बाँड्ने हेर्न आउने दर्शक हुन्, कुनै भूमिका रहँदैन,’ उनले भने।

तर चिट चोर्ने, अभिभावक लगेर नराम्रो कार्य भने नगर्न उनले आग्रह गरे। ‘यस्तो गल्ती गरे म सक्छु भन्ने विश्वास गुमाएको हुन्छ, त्यसैले आत्मविश्वास हुनुपर्छ,’ उनले भने, ‘किताबमा भएका विषय/कुराहरू नआए पनि सिकेको कुराहरू राम्रो लेख्छु, उत्तीर्ण गर्न सक्छु भन्ने साहस हुनुपर्छ, त्यो साहस भए अवश्य पास हुन्छ।’

एक/एक जना गरेर मात्र परीक्षा हलमा प्रवेश गर्नू :  शाही

शिक्षाविद् शाहीले सादा पोसाकमा र एक एक जना गरेर मात्र निरीक्षण गर्न माग गरे। ‘क्यामेरा नै लगेर टोली नै जानुपर्छ भन्ने छैन, पर्दैन पनि। यो भनेको उनीहरूको पदीय हैसियत देखाउने मात्रै हो, परीक्षार्थीहरूको लागि ३ घण्टा अत्यन्त महत्वपूर्ण छ। त्यसैले परीक्षा हलमा जाने भए सादा पोसाकमा एक एक जना गरेर मात्र छिर्नुहोला,’ उनले भने।

कुनै विद्यार्थीले गलत क्रियाकलाप गरेमा बाहिर ल्याएर जाँच गर्नुपर्ने उनको भनाइ छ। 

‘परीक्षा हलमा गएर कोही त उता सर, त्यहाँ के राखेको छस् इत्यादि भन्दै विद्यार्थीहरूलाई थर्काउँछन्, हप्काउँछन्। यसले त्यहाँ भएका सबै परीक्षार्थीहरूमा असर पुग्छ, कसैले गलत काम गरेको पाएमा त्यसलाई मात्र बाहिर लगेर त्यहीँ सानो खालको जाँच गर्नु, अरूलाई असर नगरोस्, समयको दुरूपयोग नहाेस्,’ उनले सुझाए। 

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.