|

काठमाडौं : कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो। एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

एपिएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रनमात्र बनाएपछि एपिएफले उपाधि जितेको हो।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडिन्। लकिता राजजंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि बिनु बुढा मगरले २ तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको एपिएफले पूरै २० ओभरमा १ सय ५४ रनको योगफल बनाएको थियो। शुरुवातबाट नै एपिएफले आक्रामक ब्याटिङ गरेको थियो।

सो क्रममा  ललितपुर मेयर्स कपमा एपिएफले बनाएको सर्वाधिक ठूलो स्कोर पनि हो। यसअघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो।

एपिएफका लागि कप्तान सीता राना मगरले ६८ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रन जोडिन्। यो ललितपुर मेयर्स कपको एक इनिङमा सबैभन्दा उच्च व्यक्तिगत योगफल हो। यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले  लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन्।

इन्दु वर्मा ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रनमा अविजित रहिन्। दोस्रो विकेटका लागि सीता र इन्दुले अविजित १ सय ३६ रनको साझेदारी गरेका थिए।

यो ललितपुर मेयर्स कपमा कुनै पनि विकेटको लागि भएको ठूलो साझेदारी हो। यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध  अविजित १ सय ८ रनको साझेदारी गरेका थिए।

कोशीका लागि एकमात्र विकेट अलिशा खडियाले लिइन्।

एपिएफ समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको थियो। समूह चरणका ३ खेलमा जित र १ मा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोशी फाइनल पुगेको थियो।

प्रतियोगितामा नेपाल एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। कोशीकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र तीव्र गतिकी युवा बलर निशा शाह बेस्ट बलर घोषित भइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.