|

बैतडी : भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो। भारतमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको जोशीको भनाइ छ।

चैत महिना शुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। सुदूरपश्चिमका यी सबै नाकामा नियमित रूपमा कोरोना परीक्षणको कार्य जारी छ।

उनले भने, ‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौं।’​

सीमानाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा सङ्क्रमण देखिएका शहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक छ।

उनले भने, ‘भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि जोखिम बढ्दै गएको छ। त्यसको रोकथाम र नियन्त्रण गर्न सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौं।’ 

नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ।

नयाँ वर्ष नजिक आइरहेका वेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको जोशीले बताए।

उनले भने‚ ‘भारतमा दिनप्रतिदिन संक्रमण फैलिरहेकाले सुदूरपश्चिम पनि जोखिममा छ। सीमामा स्वास्थ्य परीक्षण गरेर मात्रै भित्रिन दिएका छौं।’ 

संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेशनमा बस्न भन्ने गरिएको छ।

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरी नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।

जोखिम बढेपछि सीमा नाकाबाट स्वदेश फर्कनेलाई परीक्षणसँगै अनिवार्य मास्क लगाएर मात्रै भित्रिन दिने नियम बनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४५ हजार ३४७ जनाको कोरोना परीक्षण गरिएकोमा ६१ हजार ९४२ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यो प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ।

पछिल्लो समयमा कोरोना संक्रमणदर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.