|

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको छ। जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन्।

वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाताको अन्तिम नामावली समावेश गरिएको छ। आयोगले उपनिर्वाचन हुने क्षेत्रबाट अन्यत्रको मतदाता नामावली संकलन जारी नै रहने जनाएको छ।

तनहुँ क्षेत्र नम्बर १ मा गत मंसिरको भन्दा अहिले मतदाता संख्या कम देखिएको छ। निर्वाचन आयोगका अनुसार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली रहेको तनहुँ १ मा १८५ जना मतदाता घटेका छन्। 

मंसिरको चुनावमा १ लाख २३ हजार ४९० जना मतदाता रहेकोमा अहिले घटेर १ लाख २३ हजार ३०५ कायम भएको आयोगले जनाएको छ।

रवि लामिछाने पदमुक्त भएपछि खाली बनेको चितवन क्षेत्र नम्बर २ मा भने मंसिरयता ४७० जना मतदाता थपिएका छन्। वैशाख १० को उपचुनावमा यहाँबाट १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन्।

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा २ मा पनि २३७ मतदाता थपिएका छन्। यहाँ हुने उपचुनावमा १ लाख ५ हजार २४८ जनाले मतदानमा भाग लिन पाउनेछन्। आगामी वैशाख ९ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले उपनिर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। 

वैशाख १० मा हुने तीन निर्वाचन क्षेत्रमा १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र कायम भएका छन्। चितवन क्षेत्र नम्बर २ मा ४३ मतदानस्थल र १३८ मतदान केन्द्र कायम भएका छन् भने बारा २ मा ८२ मतदानस्थल र १३७ मतदान केन्द्र छन्। तनहुँ १ मा ६९ मतदानस्थल र १५२ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.