|

पर्वत : अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरिएको छ। 

महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गरेका क्याप्टेन भीमबहादुर भुजेललाई महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरेका हुन्।
प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा पोखरा महानगरपालिका साथमै रहेको बताए। ‘पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायत हिमश्रृंखलाको काखमा रहेको सहर हो’, उनले भने, ‘हिमाल बिनाको पोखरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ।’  आचार्यले हिमालमा बढेको मानवीय क्रियाकलापका कारण भइरहेको वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको बताए। 

महानगरप्रमुख आचार्यले सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। 

नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताए। हिमाल र ती हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनको भनाइ छ। 

यसअघि नेपाली सेनाले सन २०२१ मा धौलागिरि र सन २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ। सगरमाथाको आरोहण पूर्व आरोहीले गर्ने पूर्वाभ्यास क्रियाकलाप आठ हजार मिटर माथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि ‘डम्प’ भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताए। उनले अन्नपूर्ण हिमाल आरोहण गर्नेहरू संख्या वृद्धि हुनु र हिमालमा धेरै फोहोर डम्प भइरहेको शेर्पाको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन्।  

‘एन इन्डेभ(र) टु सेभ द हिमालयज’ भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिइएको छ। 

नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ। विश्व वातावरण दिवसमा समापन गरिने उक्त अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.