|

विराटनगर : एभरेस्ट साइन्स सेन्टर (विज्ञान केन्द्र) शान्तिवन बर्जु सुनसरीका सञ्चालक डा. दिलीप अधिकारीले विज्ञानकेन्द्र मेलाको उद्घाटनमा प्रधानमन्त्री आउने भन्दै स्टल बुकिङ शुरु गरेका छन्।

प्रधानमन्त्री आउने–नआउने टुंगो नलाग्दै ‘प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम’ भन्दै अधिकारीले स्टल बुकिङ शुरु गरेका हुन्। उनलाई शृङ्खलाबद्ध ठगी गरेको आरोप लागेको छ।

उनले मेला लगाउन विराटनगरका टिकेन्द्र श्रेष्ठ र सुमन कट्टेललाई जिम्मा दिएका छन्। उनीहरू विराटनगरमा ‘डाइरेक्ट सेलिङ’को नाममा नेटवर्किङ धन्दा चलाउँदै आएका व्यक्ति हुन्।

मेला वैशाख ६, ७, ८ र ९ गतेसम्म सञ्चालन गर्ने तयारी उनीहरूको छ। स्टल बुकिङमा लागेको र सकारात्मक प्रतिक्रिया आएको बताउँदै श्रेष्ठले प्रधानमन्त्रीलाई उद्घाटनमा ल्याउने तयारी गरिए पनि अन्तिम टुंगो भने नलागेको बताए।

प्रधानमन्त्रीको सचिवालयमा खबर पुगेको पनि छैन तर आयोजक भने प्रधानमन्त्री आउने भन्दै स्टल बुकिङमा सक्रिय छन्। केन्द्रमा विज्ञान मेला, औद्योगिक तथा कृषि व्यापारका स्टल राख्ने तयारी छ। प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार वैशाख ६ गते सुनसरी जाने कुनै कार्यक्रम तय भएको छैन।

विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढाउन औद्योगिक तथा कृषि, व्यापार व्यवसायीलाई प्रवर्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको दाबी आयोजकको छ।

मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी विद्यार्थीले विज्ञान–प्रविधिका विषयमा अधिक जानकारी पाउने दाबी गरिएको छ। नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका दुई सयभन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ।

साथै, ठूलादेखि साना उद्योगीले समेत आफ्ना १०० भन्दा बढी स्टल राखी नेपालका ७७ वटा जिल्लाबाट आएकाले आफ्ना उत्पादित वस्तु बिक्री तथा प्रदर्शनी गरी आ–आफ्नो व्यापार गर्ने दाबी उनीहरूको छ। अधिकारीले यसअघि पनि नासाबाट चन्द्रमाको चट्टान ल्याएको दाबी गरेका थिए।

डा. अधिकारी चेक बाउन्स प्रकरणमा एकपटक थुनामा परेका थिए। अधिकारीले २०७८ फागुन ६ गते छोरा सुदीव विक्रम अधिकारीको धापासी काठमाडौंकी एक युवतीसँग विवाह गराएका थिए। उक्त विवाहका लागि घर रंगरोगन गर्न उधारोमा कञ्चनबारी र विराटनगरको एक पसलबाट ४–५ लाख बराबरको रंग लगेका थिए। त्यसबापत उनले चेक दिएका थिए। उक्त चेक नसाटिएपछि व्यवसायीले बाउन्स गरेर राखेका छन्।

त्यसैगरी छोराकै विवाहका लागि विराटनगरस्थित सुन पसलबाट ५–७ लाख बराबरको चेक दिएर सुन लगेका थिए। चेक नसाटिएपछि उनले बाउन्स गरेर राखेका छन्।

मेलामा अनुमानित एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट लाग्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.