|

इलाम : नयाँ वर्षको अवसरमा इलाममा म्याराथन आयोजना हुने भएको छ। पर्यटन प्रवर्धनको उद्देश्य राखी वैशाख १ गते म्याराथन गर्न लागिएको हो।

पुरुषतर्फ ४२.२ किलोमिटरको म्याराथन र महिलातर्फ २१.२ किलोमिटर हाफ म्याराथन हुनेछ। ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नपा–१०, गोदकको नारायण चोकदेखि सन्दकपुर गापाको माइपोखरी सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ।

पुरुषतर्फका विजेताले २ लाख ५० हजार तथा महिलातर्फकी विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। पुरुष म्याराथनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको छ।

पुरुषतर्फ दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार, सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १० औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

महिलातर्फको म्याराथनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउने जनाइएको छ।

इलाम नपा, सन्दकपुर गापा र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न थालिएको हो। आयोजकले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

इलामका नगर प्रमुख केदार थापाले इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तरराष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने बताए। प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावक आउने आयोजकको अपेक्षा छ।

आयोजक समितिका गणेश खतिवडाले नेपालमात्र नभई विभिन्न देशका धावकले समेत यसमा अवसर पाउने बताए। प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले चैत मसान्तसम्म सम्पर्क गर्नुपर्नेछ। जिल्लाबाहिरबाट आउने धावकका लागि प्रतियोगिताको अघिल्लो दिनको खाना र वासको व्यवस्था आयोजकले गरेको छ। खतिवडाले निर्धारित समयमा दूरी पार गर्ने प्रतियोगीलाई थप १ दिन खाना र आवास व्यवस्था गरिने बताए।

प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगिताका लागि इलाम नगर, सन्दकपुर गापा र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघ–संस्थाबाट यो रकम संकलन गरिने आयोजकले जनाएको छ। यो म्याराथनले इलाम र सन्दकपुरसहित जिल्लाको खेलकुद र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान गर्ने सन्दकपुर गापाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए।

‘पर्यटनको समग्र विकासमा एकीकृत प्रयासको खाँचो छ’, उनले भने, ‘यो प्रतियोगिता पनि त्यही प्रयासको एउटा कार्य हो।’

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले खेलाडीको सुरक्षा र म्याराथन आयोजना गरिने मेची राजमार्गको ट्राफिक व्यवस्थापनमा प्रहरीले सहयोग गर्ने बताए। 

म्याराथनकै दिन सन्दकपुर गापामा तेस्रो संस्करणको सन्दकपुर गोल्डकपको समेत फाइनल खेल हुनेछ। चैत्र २४ गतेबाट प्रतियोगिता आयोजना गरेर वैशाख १ गते फाइनल हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.