|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त ६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएका हुन्। 

राष्ट्रपति पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय; परराष्ट्र मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; युवा तथा खेलकुद मन्त्रालय; स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई दिएका हुन्। 

नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकासमन्त्रीका रूपमा सीता गुरुङ छन्। 

यसैगरी नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।  

नेकपा एकीकृत समाजवादीका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रूपमा प्रकाश ज्वालाले शथप लिए।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोक राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट शरत्‌सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

यसैगरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।

यसैगरी नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा शपथ लिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.