|

काठमाडौं : चट्याङ लागेर आज (शुक्रबार) २ जनाको मृत्यु भएको छ।

आज दिउँसो पानीसँगै परेको चट्याङ लागेर सिरहामा एकजना पुरुष र ओखलढुङ्गामा एकजना युवतीको ज्यान गएको हो। ओखलढुङ्गामा अर्की एक बालिकासमेत घाइते भएकी छन्।

सिरहा मिर्चैयामा ना ५ ख ३७ २१ नम्बरको ट्रकमा चट्याङ लागेर चालक रौतहट चन्द्रपुर नगरपालिका अलटुकीका ४३ वर्षका नेत्रप्रसाद गौतमको मृत्यु भएको छ।

मिर्चैयास्थित सौर्य सिमेन्ट इण्डस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासँगै परेको चट्याङ लागेर गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर सिकिस्त भएका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-६ की २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनका अनुसार अर्की १३ वर्षीया अरुणा कार्की घाइते भएकी छन्। मृतक र घाइते दिदीबहिनी हुन्। उनीहरु सानीमा र ठूलीआमाकी सन्तान रहेका प्रहरीले जनाएको छ।

आज दिउँसो खेतमा गहुँ काटिरहेका बेला चट्याङ लागेर घाइते अरुणालाई स्वास्थ्य चौकी रानीवनमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक दासले बताए। शर्मिलाको रानीपनमा उपचारकै क्रममा ज्यान गएको हो।

भोलि पनि वर्षाको सम्भावना

आज दिउँसोदेखि साँझसम्म देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी परेको थियो। जल तथा मौसम विज्ञान विभागले आज राति देशभरका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहिका पानी पर्ने सम्भावना देखिएको जनाएको छ।

विभागका अनुसार दिनभर खराब रहेको मौसम राति पनि आंशिकदेखि सामान्य बदली नै रहनेछ। मौसम बदली रहँदा देशका केही स्थानमा हलुकादेखि मध्यम पानी पर्न सक्ने विभागले बताएको छ।

उच्च हिमाली तथा हिमाली भूभागमा भने हिमपात हुन सक्ने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

भोलि शनिबार पनि दिउँसो देशभरको मौसम बदली रहनेछ। केही स्थानमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने र हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको विभागले जनाएको छ।

कर्णाली र सुदूरपश्चिममा बिहान र अन्य प्रदेशमा दिउँसोदेखि साँझसम्म वर्षा भएको थियो। शुक्रबार दिउँसो काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको थियो भने बुटवलमा मौसम खराबीका कारण दिउँसै अँध्यारो भएको थियो।

हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ। पश्चिमी वायुको प्रभाव भोलि पनि रहने र पर्सि आइतबारबाट सुधार हुने आँकलन गरिएको छ। 

आगामी २४ घण्टाका  लागि  देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ तथा  हावाहुरीबाट हुन सक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.