|

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावली खारेज गर्ने निर्णय गरेका छन्। 

शुक्रबार गृह मन्त्रीको पद बहाली गर्दै उनले पहिलो निर्णय गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावली खारेज गर्ने निर्णय गरेका हुन्। उनले आफूले गरेको सो निर्णय पारित गर्न मन्त्रिपरिषदमा लैजाने बताए।

उनले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरेका छन्। सो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी उनले दिए। 

उनले भने‚ ‘मैले पद बहाली गर्दा दुई वटा फाइलमा हस्ताक्षर गरेको छु। त्यो दुईवटै विषय प्रस्तावको रुपमा मन्त्रिपरिषद्को बैठकमा पेस गरिनेछ। एउटा, अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ। र त्यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि प्रश्तुत गर्ने मैले प्रश्तावमा सही गरेँ। दोस्रो, अहिलेको एउटा मुख्य समस्या मिटरब्याजीको छ। मिटरब्याज पीडितहरुलाई न्याय दिन र २१ औँ शताब्दीको आजको लोकतान्त्रिक नेपालमा पनि सामन्तवादका अवशेषहरु जुन रुपमा देखा पर्दै छन्‚ त्यसलाई समाधान गर्न मन्त्रिपरिषद्ले कानून केही संशोधन गर्ने गरी विधेयक तयार पनि पारिसकेको छ। यहीँबाट प्रश्ताव गरेर त्यो अगाडि बढिसकेको छ। आजको मेरो निर्णय एउटा सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने हामीले प्रश्ताव गरेका छौँ। त्यो आयोगको नामावलीसहित हामीले मन्त्रिपरिषदमा पेस गर्नेछौँ। त्यसले यो प्रक्रिया निरुपण गर्न र न्याय दिन प्रभावकारी कदम चाल्नेछ।’

उनले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन पनि दिए। समय पालनाको अवज्ञालाई छुट नदिने उनले चेतावनी दिए। मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.