|

पर्वत : जिल्लाको जलजला गाउँपालिका–३ माझफाँटमा रहेको पुरानो विद्यालय विद्याज्योति मा.वि. मा बेल्जियमको संस्था र गाउँपालिकाले गरेर झण्डै दुई करोड रुपैयाँ लगानी गरेका छन्।

विद्यालयको मूल भवन पुरानो बनेर छाना चुहिने भएपछि सामान्यतः बर्खा याममा विद्यार्थी राख्न समस्या भएपछि भवन प्रयोगविहीन अवस्थामा रहेको थियो। विद्यालयले छाना मर्मत गर्न सकेमा भवनलाई प्रयोगमा ल्याउन सक्ने बताएको भए पनि ‘विकास बेल्जियम’ ले नयाँ भवन बनाइदिएको हो।

वैदेशिक रोजगारीको शिलशिलामा बेल्जियममा रहेका नेपाली र बेल्जियमकै नागरिकहरू पनि आबद्ध रहेको ‘विकास बेल्जियम’ ले एक करोड २९ लाख १६ हजार पाँच सय रुपैयाँ सहयोग गर्दा जलजला गाउँपालिकाले ४३ लाख पाँच हजार पाँच सय रुपैयाँ लगानी गरेको हो। कुल १ करोड ७२ लाख २२ हजार रुपैयाँको लागतमा आधुनिक पक्की भवन बनेपछि नयाँ भवनमा नै विद्यार्थीहरूलाई राखेर पठनपाठन चलिरहेको विद्यालयका प्रधानाध्यापक रघुनाथ आचार्यले बताए।  
भवन बाहेक २१ लाख ९२ हजार तीन सय रुपैयाँको लागतमा विद्यालयलाई प्रविधियुक्त बनाउनका लागि विभिन्न सामग्रीहरू पनि ‘विकास बेल्जियम’ ले सहयोग गरेको छ। उक्त रकमबाट आधुनिक स्मार्ट बोर्ड, प्रोजेक्टर सहित प्रविधिका माध्यमबाट शिक्षण गर्नका लागि आवश्यक सामग्रीहरू खरिद गरिएको छ। यस्तै कक्षाकोठालाई थप व्यवस्थित बनाउनको लागि नयाँ फर्निचरहरू पनि सोही रकमबाट व्यवस्थापन गरिएको छ।

विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भवनको उद्घाटन गरेका छन्। उनले आफू गाउँपालिकाको अध्यक्ष भएपछि पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई राखेको उल्लेख गर्दै परिवर्तन र जीवन सुधारको आधार नै शिक्षा क्षेत्र भएको बताए। शिक्षामा आधुनिक प्रविधिको प्रयोग बढ्दै गइरहेको र गुणस्तरीय शिक्षा प्रदानका लागि प्रविधि उपयुक्त हुने भएकाले अबका विद्यालयहरू प्रविधिमैत्री हुनुपर्ने उनको सुझाव छ। त्यसका लागि गाउँपालिका भित्रका थप विद्यालयमा आगामी वैशाखबाट स्मार्ट टेलिभिजनमार्फत कक्षा सञ्चालनको तयारी गरिरहेको उनले बताए।‘गाउँपालिकाभित्र सञ्चालित विद्यालयका कक्षाहरूलाई स्मार्ट टेलिभिजनसहित आधुनिक प्रविधिको सुविधा नयाँ शैक्षिक सत्रबाट नै थप गर्ने तयारी गरिरहेका छौँ।

सामुदायिक विद्यालयमा घट्दै गएको अभिभावकको विश्वासलाई फिर्ता ल्याउनु हाम्रो लक्ष्य हो’, उनले भने, ‘यसका लागि विकास बेल्जियमले भवन निर्माणका लागि गरेको सहयोग पनि एउटा अङ्ग हो। आधुनिक प्रविधिको प्रयोगका लागि विद्यालयका भवन पनि त्यही अनुसारका भएमा सहज हुन्छ। बेल्जियममा रहेका नेपाली र बेल्जियमका नागरिकले गरेको सहयोगको प्रशंसा गर्दछौँ।’

कार्यक्रममा ‘विकास बेल्जियम’ उपाध्यक्ष करेल आर्टसले नेपालको ग्रामीण क्षेत्रमा रहेको गाउँका विद्यार्थीको उज्ज्वल भविष्यको लागि आफूहरूले सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए। शिक्षा क्षेत्रमा गरिएको लगानीले लामो समयपछि मात्रै नतिजा दिने भएकाले राज्यलाई बलियो, अनुशासित, शिक्षित र प्रविधिमा अगाडि बढाउनको लागि शिक्षा क्षेत्रमा लगानी धेरै हुनुपर्ने सुझाए।

भवन निर्माणसँगै उक्त विद्यालय नेपालको नमुना विद्यालयको रूपमा तयार भएको प्रोजेक्ट कोअर्डिनेटर टेकबहादुर बरुवालले बताए। उनका अनुसार यो संस्थाले विगत ३५ वर्षदेखि विकासका पूर्वाधारदेखि विभिन्न दैवी प्रकोपका क्षेत्रमा पनि काम गर्दै आइरहेको छ।
कक्षा १२ सम्म सञ्चालित विद्याज्योति माध्यमिक विद्यालयमा झण्डै तीन सय जना विद्यार्थीहरू अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.