|

काठमाडौं : ‘महायज्ञको प्रभाव : सामाजिक सद्‌भाव’ भन्ने मुल नाराका साथ वैशाख १ गतेदेखि मकवानपुरमा सात दिने विराट महायज्ञ संचालन हुने भएको छ।

शनिबार काठमाडौंमा नयाँ वर्षको शुभकामनासहित महायज्ञमा हुने कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष शुभकामना विराट ज्ञान महायज्ञ अन्तर्गत वि.सं. २०८० वैशाख १ गतेदेखि आयोजना हुने महायज्ञको मूल आयोजक समितिले जनाएको छ।

हरेक पाँच/पाँच वर्षमा आयोजना गरिँदै आएको यो महायज्ञ यस वर्ष अझै वृहत् हुने आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले बताए। महायज्ञमा विशेष गरी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गरिने, पितृ मोक्षको कामना, लक्ष्मी आराधनालगायत पूजा गरिने उनले जानकारी दिए।

‘यस वर्ष २५ हजार नारीलाई एकै प्रकारको साडी वितरणसँगै वैशाख १ गते वृहत् शान्तिशोभा कलशयात्रा गरिने र ६ गते दिव्य राप्तीतटमा सवा पाँच करोड दीप प्रज्वलन गरिने छ’, सुमार्गीले भने।

महायज्ञमा ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको भन्दै सुमार्गीले पाँच वर्षमा एकपटक हुने भएकाले सबैलाई एक पटक उपस्थित हुन अपिल पनि गरे। 

महायज्ञ अवधिभर हजारौं भक्तिमयी मातृ शक्तिहरूबाट शान्तिशोभा कलशयात्रा शंख घण्ट, पञ्चेबाजा, डाण्डिया नृत्य, झाँकी, खैँजडी भजन, योगाभ्यास,करोडौं दीप प्रज्वलन, महाआरती विशेष नृत्यलगायत अनेक कार्यक्रम हुने  जानकारी आयोजक समितिले दिएको छ।

महायज्ञ  अनन्तश्रीविभूषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्वमा र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा. सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा कलात्मक अभिव्यक्तिका साथ भक्तिसंगीत अलौकिक भागवत प्रवचन हुने संयोजक सुमार्गीले बताए।  

'यो महायज्ञ लिने होइन दिने हो,दान दिन कुनै दबाब पनि होइन। यदि मनले सहयोग गरौँ भन्ने लाग्छ भने सहयोग पनि गरौँ’, संयोजक सुमार्गीले भने, ‘आफूसँग जे छ त्यसलाई दान गरेर पुण्य आर्जन गर्ने स्थलको रूपमा महायज्ञ रहने हुँदा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न भने सकिन्छ। ‘

महायज्ञबाट हेटौंडालाई धार्मिक सामाजिक पर्यटकीय एवम् मानवताको सहर बनाउने आफूहरूको उद्देश्य रहेको आयोजक समितिकी सदस्य अस्मिता सुमार्गीले जानकारी दिइन्।

गोरक्षेश्वरमा निर्माणाधीन विशाल धर्मशालाको पूर्णता, किरियापुत्री भवन, शवदाह गृहको व्यवस्थापन, वैकुण्ठद्वार निर्माण लगायतका कार्यको थालनीसमेत भइरहेको उनले बताइन्।

यस्तै, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले सामाजिक सद्भाव कायम राख्न यो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए। यो शुभ कार्यमा सबैको उपस्थिति आवश्यक रहेको भन्दै उनले सामाजिक तथा धार्मिक कार्यमा सबैजना एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।  

महायज्ञ भव्यताका साथ सम्पन्न गर्न ५५१ सदस्यीय विराट महायज्ञ मूल आयोजक समिति गठन भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.