|

काठमाडौं : नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो। काठमाडौं उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन्।  वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन्। नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ।

नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ। काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन्।

त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ। नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन्। अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन्। साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन्। नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ। विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो। नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले। तर यसो भन्दै गर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ।

तस्वीरहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.