|

काठमाडौं : बाँदरको स्वभाव एकैठाउँ र एकै स्थानमा बसिरहने हुँदैन। भीर, पहरो, रूखका डालीडाली चराजस्तै नाचिनाची हिँड्ने सामर्थ्य भएको बाँदर आफैं जताततै नाच्न उफ्रिन सक्छ।

पछिल्लो समय बाँदरका कारण खेतीपातीमा समस्या भएको किसानले गुनासो गर्न थालेका छन्।​ जंगल छेउका खेतबारीका अन्न, तरकारी, फलफूल खाइदिएर सर्वनास गरी बाँदरले किसानलाई धुरुधुरु रुवाएको छ।

जंगल र जंगल छेउमा मात्र रहने बाँदर विस्तारै मान्छेका बस्ती पसेर घर–घरका अन्न र अन्य खाने कुरा चोरेर खान थालेको छ। मान्छेको संगत पाएर हो या आफैँ क्षमता बढेर हो, शहर बजारतिर त बाँदरले मानिसका हातैका सामान पनि खोसेर लान र खान थालेको छ।

मान्छे पुच्छर नभएको बाँदर, दुवैको पुर्खा एउटै

नृवंश शास्त्रमा पुच्छर भएका र पुच्छर नभएका यो धर्तीका सबैभन्दा विकसित स्तनधारी प्राणी बाँदर र मानिस एउटै पुर्खाका सन्तान भनेर उल्लेख गरेको पाइन्छ।

पृथ्वीमा झण्डै तीसलाख वर्षअघि उत्पत्ति भएको बाँदरका २३४ प्रजातिमध्ये पाँचवटा प्रजातीमा पुच्छर नभए पनि बाँकी २२९ प्रजातिमा पुच्छर छ। पुच्छर नहुनेमा वनमान्छे, चिम्पाञ्जी, ओराङगोटाङ, गुरिल्ला र अन्तिम तथा सबैभन्दा विकसित बाँदर प्रजाति भनेको मानव जाति हो।

संसारमा एक सय ग्रामका साना बाँदरदेखि एकसय- डेढसय किलोसम्म तौल भएका ठूला आकारका गुरिल्ला बाँदर पनि पाइन्छन्। मान्छे त्यसैभित्र पर्दछ।

एउटै प्रजातिका हुनाले संसारभरिका बाँदर र मानिसका स्वभावमा समानता पाइन्छ।

मानिस र सबै बाँदर प्रजातिका पोथीको महिनावारी अथवा परसर्ने गुण हुन्छ भने यी सबै स्तनधारी अथवा बच्चालाई दूध चुसाउने प्रजाति हुन्।

मस्तिष्कको क्षमता ज्यादै विकसित भएकाले बाँदरका प्रजातिले एक अर्काबाट सिक्ने, आपसका भाषा अथवा आवाज बुझ्ने, एक–आपसमा सहयोग गर्ने गर्दछन्।

मानिसलगायत सबै बाँदर प्रजातिले आफ्नो हात तथा खुट्टा दुइटै चलाएर काम लिन सक्छन्।

नेपालमा ६ प्रकारका बाँदर

नेपालमा राता बाँदर, पहरे बाँदर, लङगुर बाँदर र लंगुर बाँदरका विभिन्न तीनवटा प्रजाति गरी ६ प्रकारका बाँदरहरू पाइन्छन्।

राता बाँदर तराईको गर्मी, उष्ण भू–भागदेखि हिमालको पछाडि बेंसीदेखि लेकसम्मै पाइन्छन्।

नेपालको मध्य भागमा रातो जस्तै अर्को अनौठो खाले पहरे बाँदर पाइन्छ जसलाई कसैले कालो बाँदर, कसैले पहरे बाँदर र जंगली कालो बाँदर भन्ने गरेका छन्।

टाढाबाट हेर्दा रातो बाँदर जस्तै देखिए पनि रातो बाँदरको जस्तो पृष्टभागमा पहरे बाँदरको रातो हुँदैन।

पहरे बाँदर चुरे पहाडको बेंसी,मध्य पहाडको न्यानो भू–भागदेखि हिमालको फेदिसम्म पाइन्छ। नेपालमा पाइएका पहरे बाँदर नितान्त नेपालीपनका हुन्।

पहरे बाँदरको उत्पत्ति मर्स्याङ्दी र बूढीगण्डकी क्षेत्रमा आजभन्दा धेरै लाख वर्षअघि भएको अनुमान छ।

नेपालमा पाइने अर्को बाँदर हो–लङगुर बाँदर। लङगुरलाई लाम्पुछ्रे तथा ढेडु बाँदर पनि भनिन्छ। अरू बाँदरभन्दा ठूलो र लामो पुच्छर हुनाले यसलाई ढेडु तथा लाम्पुच्छ्रे भनिएको हो।

लंगुर बाँदरका चैँ तीनवटा प्रजाती छन्। तराईतीर जिउमा बेसार दलेजस्तो पहेँलै छाती भएका कालो–कालो खालका तर टाउकामा सेतो रङ भएका पुच्छर लामो हुने एउटा प्रजाति।

मध्य पहाडमा त्योभन्दा फरक छातीमा पनि पँहेलो नभएका अर्को प्रजाति छन्। उच्च हिमाली क्षेत्रमा गुराँस र धुपीका पात, फल र फलका बियाँसँगै विभिन्न फुल खाएर पेट भर्ने आकर्षक देखिने लंगुर गरी नेपालमा तीन प्रकारका लङगुर बाँदर पाइन्छन्। 

बाँदर र मान्छेको एउटै आनीबानी

बाँदर र मान्छेमा सोच्न सक्ने, सिक्न सक्ने, अर्काको बानी नक्कल गर्नजान्ने, सिकाउन सक्नेदेखि अर्काको मनको कुरा बुझ्न सक्ने धेरै कुरामा समानता पाइन्छ।

चिम्पाञ्जी प्रजातिमा त गुण र क्षमता जाँच्दा ९८ प्रतिशतसम्म आनीबानी मानिससँग मिलेको पाइएको छ। बाँदरले मानिसले जति विवेक नपुर्‍याउने हुनाले केही प्रतिशत मात्रै मानिसको क्षमता बढी भएको हो।

मस्तिष्कको विकास मानिसको धेरै भएकै कारणले मानिसको टाउको गोलो र बाँदरको कम विकास भएको कारण टाउको केही चेप्टो भएको वैज्ञानिक अनुसन्धानले पत्ता लागेको छ।

बाँदरलाई मान्छेले घरमा पालेर खुरुखुरु काम पनि लगाएको भेटिएको छ। चटक देखाएर बाँदरलाई मानिसले उपयोग गरेका छन्।

अचेल सहरहरूमा मान्छेले खाने बिस्कुट, चाउचाउ, फ्रुटीदेखि मानिसले खाने अरू सबैखाले खानेकुरा बाँदरहरूले मानिसले जस्तै गरी खान जानेका छन्।

मान्छेले ढोकामा लाएको आग्लो छेस्किनी, ह्याण्डिल खोलेर खानेकुरा चोरेर खाने, कुकरको बिर्को खोलेर भातै खाइदिएको कुरा अब सहर बजारका बाँदरको हैरानी बेहोरेकालाई नौलो छैन।

जापानका बाँदर मानिसले माटो लागेको खानेकुरा दिएमा आफैँ पखालेर खान्छन्। तर, प्राकृतिक रुपमा जंगलमा बसेका र जंगलकै मात्र खानेकुरा खाएका, मानिसको सँगत नपाएका बाँदरले त्यसरी मानिसले दिएका खानेकुरा खाँदैनन्।

बाँदरले मान्छेलाई गुन पनि लगाएका छन्

पर्यावरण सन्तुलनमा राख्न बाँदरहरूले मानिसलाई सहयोग नै गरेको छ। वनजंगल मासिँदै गएपछि बस्ती पसेका बाँदरले मानिसले जस्तै सुखगर्ने क्रम बढेको अनुमान गर्न सकिन्छ।

जंगलमा दिनभरी चहारेर खाने कुरा खोज्नको साटो मान्छेका खेतीपातीमा सजिलै अघाउने थाहा पाएका बाँदरले जंगल भए पनि मानिसकै खेतबारीमा पल्केर जंगलमा खानेकुरा खोज्न अल्छी मान्न थालेका छन्।

राता बाँदर संसारभर मानिसका लागि चाहिने औषधि विज्ञानमा सबैभन्दा बढी प्रयोग भएका छन्। सिटामोल, प्रेसर, हेपाटाइटिस, मुटु, क्यान्सरका औषधि सुरुमा बाँदरमै प्रयोग भई सफल भएपछि मानिसका लागि आएका हुन्।

बाँदरमा सफल भएका विभिन्न खोप पनि मानिसका लागि आएका छन्। बाँदर र मानिसको शारीरिक बनावट र क्षमता उस्तै हुने भएकाले मानिसका लागि आवश्‍यक थप औषधि र खोपको अध्ययन अहिले पनि बाँदरमा भइरहेको छ।

विश्वमा अझै टिबीको ओखती मात्र छ खोप बनेको छैन, हेपाटाइटिस, एड्स, क्यान्सर, सार्स, कारोना जस्ता धेरैवटा रोगविरुद्ध खोप आवश्यक छ तर प्रभावकारी खोप बनीसकेको छैन। त्यस्ता खोप पनि यिनै बाँदरको सहयोगले बनाउन सकिन्छ।

बाँदरलाई वरदान बनाउन सकिन्छ

सरकारले साना–साना चिडियाखानाको अवधारणा ल्याएको छ। त्यस्ता चिडियाखानामा थोरै–थोरै संख्यामा बाँदर राखेर केही भए पनि आम्दानीको माध्यम बनाउन सक्छौँ।

 नेपालमै भएका ठुला–ठुला विश्वविद्यालय र कलेजहरूमा अध्ययन र नुसन्धानका निम्ति सय/ पचासका दरले बाँदर फार्म खोलेर बहुआयामिक फाइदा लिन सकिन्छ।

रातो बाँदर बायोमेडिकल रिसर्चका लागि विशेष महत्वको छ। रातो बाँदरलाई हामीले आफ्नो ‘पेटेन्ट राइट’ बनाएर विदेश निर्यात गरी राष्ट्रिय आम्दानीसमेत गर्न सकिन्छ।

सबै प्रदेश सरकारले प्रदेश स्तरीय ‘बायोमेडिकल रिसर्च’ सेन्टर बनाउन सक्छन्। प्रत्येक सेन्टरमा दुईसयदेखि पाँचसय सम्म बाँदरका संख्या सकारात्मक खपत हुन सक्छ।

सबैभन्दा धेरै दुःख दिएका ठाउँबाट बाँदर संकलन गर्ने हो भने पीडित किसानलाई बाँदरको संख्या घटेर ठूलै राहत हुने थियो।

नेपालमा डेढ लाख बाँदर छन्  

हालसम्म सरकारले बाँदरको बारेमा गहिरो अध्ययन अनुसन्धान गरेकै छैन। जति अध्ययन अनुसन्धान भएको छ त्यो जिज्ञासु व्‍यक्ति आफैँले गरेका हुन्।

नेपालभरी बाँदर कति छन? कुन प्रजातिका बाँदरको संख्या, कुन ठाँउमा कति होलान्? यकिन भन्न सक्ने अवस्था छैन।

वन्यजन्तु विज्ञ र खोजकर्ताले जम्मा गरेको नतिजामा नेपालमा झण्डै एकदेखि डेढ लाखको संख्यामा बाँदरहरू भएको अनुमान छ। तर यो संख्या बर्सेनि बढ्ने क्रममा छ।

अहिले जताततै बाँदरले दुःख दियो भन्ने गुनासो सुनिन्छ। यो गुनासो समाधान गर्न बाँदरको संख्या, जात, कुन ठाउँमा बढी छन् सबै विवरण तयार गर्नु आवस्यक भएको हुनाले नेपालभरी रहेका सबै बाँदरको बारेमा अध्ययन र अनुसन्धान जरुरी छ।

बाँदरबाट कसरी घटाउने नोक्सानी?

केही गाउँमा बाँदरले ज्यादै दुःख दिएपछि बाँदरले नखाने तथा कम क्षति पुर्‍याउने खेती गरेर समाधानको उपाय निकालिएको छ।

खुर्सानी, अलैंची, कटुस, कागती, ओखर, लप्सी, निबुवालगायत फलफूल र अरू थुप्रै जडीबुटी खेती गर्न सकिन्छ।

बाँदर मारेर समाधान हुँदै

धनकुटा, कास्कीलगायत अन्त पनि बाँदर समात्ने शिकारी नै ल्याएर अन्य ठाँउमा छोडेको भन्ने सुनिएको छ।

यसो गर्नु एक ठाउँको दुःख अर्को ठाँउमा सार्नु मात्र हो। बाँदर भटाभट मारेर सक्छौँ भन्नु पनि समाधान होइन। पूर्वदेखि पश्चिमका किसान यो समस्याबाट पीडित छन् तर केही ठाउँका दुःख अन्त सारेर समाधान खोज्नु बेठिक छ।

नेपालको प्रचलित कानुनअनुसार पनि वन्यजन्तु मार्न पाइँदैन। त्यसो त प्रकृतिक चक्रलाई कायम राख्‍न पनि जंगलमा बाँदरको निश्चित संख्या आवश्‍यक पर्दछ।

प्रदेशले प्रदेश स्तरमा, पालिकादेखि वडा सम्मले ठाउँ र क्षमता अनुसारका स–साना देखि ठूला स्तरका चिडियाखाना तैयार गर्नुपर्छ।

ज्यादै नै सकस पारेका ठाउँमा त गाउँगाउँका मानिस मिलेर नै पनि साना–साना बाँदर फार्म खोलेर यिनीहरूको संख्या घटाउन सकिन्छ।

प्राकृतिक बासस्थानमा बसेका बाँदरलाई समेत बेलाबेलामा परिवार नियोजन गराएर बाँदरको संख्या बढ्नबाट रोक्न सकिन्छ।

क्षतिपूर्ति माग्नु जायज

पछिल्लो समय विभिन्न ठाउँहरुमा मानिसका बासै बाँदरका कारण उठेका गुनासा सुनिन्छन्।

बाँदरबाट खेती जोगाउन नसकेर केही ठाँउका मानिसले खेती नै गर्न छोड्नु भएको छ। बाँदरको दुःखले ठाउँ गाउँ छोडेर बसाँइ सर्ने धेरै छन्।

बाँदर धपाउन जाँदा लडेर घाइते भएका छन्, खेती जोगाउनभन्दा पनि काँहि त ज्यानै जोगाउन मुस्किल छ। धपाउन जाँदा लडेर कतिले ज्यानै गुमाएका छन्।

वन्यजन्तुले मानिसका बस्ती पसेर क्षति पुर्‍याएको खण्डमा सरकारले क्षतिपूर्ति दिनुपर्ने कानुनी व्‍यवस्था छ। त्यसको पूर्ण कार्यान्वयन हुनु जरुरी छ।

 

विद्युतीय धरापले बाँदर भाग्छन् ५ देखि १० वाटका साधारण विद्युतीय धराप बाँदर आउने बाटोमा राखेर तर्साउन सकिन्छ।

त्यो साधारण विद्युतीय धरापले बाँदर मर्दैनन्। सरकारले सहयोग गर्ने त छँदै छ गाउँलेहरू मिलेर आफ्नै खर्चले पनि धराप राख्न सकिन्छ। जापान, अमेरिका, इण्डोनेसिया, चीनलगायत देशमा विद्युतीय धराप ज्यादै उपयोगी भएको छ।

कतिपय देशमा डरलाग्दा आवाजका गीत र बाजा बजाएर तिनीहरू आउने बाटोमा राखेर पनि तर्साएको पाइएको छ। काहीँ काहीँ डरलाग्दा मूर्ति अथवा बुख्याचा राखेर भगाउने प्रयास गरेका छन्।

बाँदरका लागि दिगो समाधान भनेको व्‍यावहारिक र वैज्ञानिक व्‍यवस्थापन हो। प्राकृतिक र जैविक व्‍यवस्थापन बाँदरकै पनि हितमा छ। तर, समाधानमा न समुदायले प्रयास गर्छ,न सरकारले नै चासो दिन्छ। जव मकै पाक्यो हल्लाखल्ला हुन्छ, त्यसपछि सेलाउँछ।

(प्राणीशास्त्री तथा बाँदर विशेषज्ञ प्राध्यापक डाक्टर मुकेशकुमार चालीसेसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.